हिमाल दैनिक
भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषद बैठक सञ्चालन संविधान र कानूनको उपहासः खाण
balkrishna khad
स्वास्थ्य उपचारको क्रममा सिंगापुर रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारको मन्त्रिपरिषद् बैठकमा भिडियो कन्फरेन्सका माध्यमबाट सम्बोधन गरेको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भिर रुपमा लिँदै संसदमा विरोध जनाएको छ। मंगलबार सभामुख कृष्णबहादुर महराले प्रतिनिधि सभाको बैठक सुरु गर्नासाथ विपक्षी दल कांग्रेसका सांसदहरु उभिएर विरोध जनाए। त्यसपछि सभामुख महराले कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणलाई बोल्न समय दिए। बैठकमा बोल्दै खाणले आधुनिक र उच्च प्रविधिको उपयोग र सदुपयोग गर्नु राम्रो कुरा हो भन्दै तर, कुनै पनि प्रविधिको दुरुपयोग कसैका लागि पनि उपयुक्त नहुने भन्दै मन्त्रिपरिषद बैठक सञ्चालन कार्यविधि तत्काल सच्याउन माग गरे। ‘हालै मन्त्रिपरिषदले मन्त्रिपरिषदको बैठक सञ्चालन कार्यविधि संशोधन गरेको छ। मन्त्रिपरिषदको सञ्चालनको कार्र्यविधि यो ज्यादै नै गम्भीर विषय हो र यसको गम्भीरता प्रधानमन्त्रीजी, मन्त्रिपरिषदका सदस्यहरुले यो नियमावली बदल्न पाउँने बैधानिक अधिकारको प्रवन्ध गरिएको छ। तथापि यो संशोधन गर्दा अधिकारलाई दुरुपयोग गर्नु भएन भन्ने म आग्रह गर्न चाहन्छु,’ खाणले भने। हालै मन्त्रिपरिषदले प्रधानमन्त्री र मन्त्रीजी सिंहदरबारमा या काठमाडौंमा उपलब्ध नभएको बेलामा पनि भिडियो कन्फरेन्सको माध्यमबाट मन्त्रिपरिषदको बैठक सञ्चालन गर्न र चलाउन मिल्ने कार्यविधिमा जुन संशोधन गरिएको छ यो विल्कुलै अनुचित भएको दाबी उनले गरे। यसबाट सरकारको सूचना पनि चुहुने र प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो कार्यभार सम्हाल्नु भन्दा अगाडि गोपनियताको सपथ खाने र त्यो सपथ खाएपछिमात्रै आफ्नो कार्यभार सम्हाल्ने प्रावधान विपरित मात्र होइन, गोपनियता पनि लिक भएर जाने त्यो गम्भीरता पनि रहको उनले बताए। अहिले प्रधानमन्त्री ओली अस्वस्थ रहेको बताउँदै खाणले उनको सुस्वास्थ्यको कामना गर्दै उपचारबाट चाँडै निको होस् भन्ने आफ्नो र आफ्नो पार्टीको तर्फबाट हार्दिक सुभेच्छा व्यक्त गरे। ‘तर प्रधानमन्त्रीजी बाहिर जाँदा सम्माननीय सभामुखमार्फत हामीले यहाँ सुन्यौँ, प्रधानमन्त्रीको कार्यभार सम्हाल्नेगरी उहाँको विभागिय र प्रधानमन्त्री कार्यालयको कार्यभार सम्हाल्नेगरी कार्यबहाक प्रधानमन्त्री पनि तोकिएको छ। सम्माननीय राष्ट्रपति कहाँबाट आएको सूचना हामीले यहाँ सुन्यौँ। एकातिर भिडियो कन्फरेन्सबाट हेर्दाखेरी प्रधानमन्त्री ओल िकार्यरतै हुनुहुन्छ। अर्कोतर्फ कार्यबहाक प्रधानमन्त्री पनि तोक्नु भएको छ। यो आफैमा पनि नमिल्ने कुरा भयो,’ उनले भने। उनले यसलाई गम्भीर गल्ती गरेको भन्दै यस्तो गल्ती नदोहोर्याउन चेतावनी दिए। ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तीनवटा हामीहरुका अंगहरु छन्। अब सम्माननीय प्रधानमन्त्रीजी नहुँदाखेरी भिडियो कन्फरेन्सबाट क्याविनेटको बैठक सञ्चालन गर्न मिल्ने हो भने, यदि सम्माननीय सभामुखज्यू भोलि हुनु भएन भने यो प्रतिनिधि सभाको पनि बैठक बस्न सक्छ?’ उनले प्रश्न गर्दै भने। त्यसैगरी राष्ट्रिय सभाको अध्यक्ष नहुँदा कार्र्यविधि बदलिदिएर नियमावली बदलेर राष्ट्रिय सभाको अध्यक्ष अमेरिका गएको बेलामा त्यहिबाट भिडियो कन्फरेन्सको माध्यमबाट राष्ट्रिय सभा चलाउन मिल्छ कि मिल्दैन भनि गम्भीर प्रश्न उनले गर। त्यसैगरी सम्माननीय प्रधानन्यायाधीश पनि विदेश जानु होला, त्यतिबेला न्यायपालिकाको बैठक पनि भिडियो कन्फरेन्सकै माध्यमबाट गरिदिनु भयो भने के होला भन्दै उनले भने, ‘यो विल्कुलै अस्वभाविक छ। यसलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ।’ उनले मन्त्रिपरिषदको बैठक सञ्चालन कार्यविधि बदलेर प्रधानमन्त्री र मन्त्री काठमाडौंमा नभएको बेलामा पनि भिडियो कन्फरेन्सको माध्यमबाट बैठक बसाल्ने जुन संशोधन गरिएको छ त्यसलाई अविलम्ब संशोधन गरी पूर्ववत स्थानमा लान माग गरे। ‘यसले हाम्रो परम्परा पनि विग्रीन्छ। यो उच्च प्रविधिको सदुपयोग होइन, दुरुपयोग हो र यसले जग हसाउने काम भएको छ,’ खाणले भने। ‘भिडियो कन्फरेन्सको माध्यमबाट मन्त्रिपरिषदको बैठक भयो भने नेपाली कांग्रेसले बडो गम्भीरतापूर्वक लिन्छ। हामीले विधिको शासनकै लागि बोलेको हो। उच्च प्रविधि प्रयोग गर्दा कहिलेकाही त हामीलाई पनि खुशी नै लाग्दछ। तर, यो सदुपयोग होइन दुरुपयोग भयो।’ उनले यो प्रविधिको प्रयोग डाक्टरले, इन्जिनियरले गर्ने, विज्ञहरुले प्रयोग गर्ने, व्यवसायिकहरु प्रयोग गर्ने भिडियो कन्फरेन्सलाई अत्यन्तै संवेदनशील निकाय मुलुकको ज्यादै नै गम्भीर निकाय मन्त्रिपरिषदको बैठक नै भिडियो कन्फरेन्सबाट गरिनु घोर आपत्ति जनक भएको बताए। https://youtu.be/NlmanrIAawI
प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update