परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकमा ऊर्जा, जलस्रोत, अपराध नियन्त्रण, सम्पर्क सञ्जाल र दुई देशको सीमा सुरक्षाका बारेमा छलफल भएको जानकारी दिएका छन् ।
नेपाल–भारत संयुक्त आयोगको बैठकबारे बिहिबार प्रतिनिधिसभा बैठकमा जानकारी दिदै उनले डुबानको समस्या, गौतमबुद्ध र निजगढ विमानस्थल र सीमास्तम्भ, सुस्ता र कालापानीको समस्या, पञ्चेश्वर परियोजना, व्यापार घाटा, परिमाणत्मक भन्सार महशुल दरका बारेमा छलफल भएको बताए ।
उनले जनकपुर जयनगर रेल्वे, खाद्य तथा गुण नियन्त्रण, भूकम्प पुनःनिर्माण, हुलाकी राजमार्ग एवं दुई पक्ष साझा हितका विषयमा गहन छलफल भएको सदनलाई जानकारी दिए । परराष्ट्र मन्त्रिस्तरीय दुई देशबीचको संयुक्त आयोगको बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्रीको नेतृत्वमा ३५ सदस्यीय प्रतिनिधिममण्डल र भारतको तर्फबाट भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशङ्करको सहभागिता रहेको मन्त्री ज्ञवालीले बताए।
मन्त्री ज्ञवालीले नेपाल भारत प्रवुद्ध समूह (ईपीजी)को प्रतिवेदन बुझाउने तयारी गर्न ईपीजीको सचिवालयलाई भनिएको जानकारी दिए । नेपाल भारत परराष्ट्रमन्त्री स्तरीय बैठक बुधबार काठमाडौंमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय