हिमाल दैनिक
प्रहरी समन्धि दुई विद्येयक राष्ट्रसभाबाट पारित
griha mantri
प्रहरी समायोजन विद्येयक २०७६ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, २०७६ माथि विचार गरियोस भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतीले पारित भएको छ । बिहिबारको राष्ट्रियसभा बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त प्रहरी समायोजन विधेयक, २०७६, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) विधेयक, २०७६ माथि विचार गरियोस भन्ने प्रस्ताव सर्वसहमतीले स्वीकृत भएको छ । उक्त विद्येयकहरु माथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै गृहमन्त्री थापाले प्रहरी समायोजनमा विभेद नहुने गरी समायोजन गर्ने गरी विद्येयक ल्याइएको बताए । उनले प्रदेशमा समायोजन हुने प्रहरीले सात वटै प्रदेशमा आफ्नो इच्छा अनुसार समायोजन हुन पाउने व्यवस्था गरिएको उल्लेख गरे । त्यस्तै श्रीमान र श्रीमती भएका प्रहरीलाई पनि एकै ठाँउमा बस्ने मिल्ने गरी समायोजन गर्ने गरी विद्येयकमा समेटिएको बताए। कर्मचारीको बढुवाको सन्दर्भमा पनि निजामति कर्मचारीको बढुवा नभई तह मिलान मात्र गरिएको र प्रहरीलाई प्रोत्साहन स्वरुप दुई तह बढुवा गरिएको दाबी गरे । प्रहरीको एक तह मात्र बढुवा गर्दा संगठनमा असन्तुलन देखिने भएकाले दुई ग्रेड थप बढुवा नीति लिइएको बताए। त्यसअघि बैठकमा राष्ट्रियसभाका सदस्य चक्रप्रसाद स्नेहीले डडेलधुरा जिल्लाको सानखोलालगायत अन्य चार गाउँपालिकामा फैलिएको हैजा नियन्त्रण गर्न केन्द्रीय सरकारसँग माग गरे। बैठकमा विशेष समय माग गर्दै उनले हैजाको महामारीबाट पीडित ८३ व्यक्तिको उपचार भइरहे पनि स्वास्थ्य चौकीमा चिकित्सक तथा औषधिको अभावले बिमारीको उपचारमा कठिनाइ हुनाका साथै महामारी फैलिँदै गएकाले हैजा नियन्त्रणका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराए। बैठकमा ‘भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक, २०७५’ टेबुल गरिएको छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयक टेबुल गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक शुक्रबार ११ बजे बोलाइएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update