हिमाल दैनिक
रविका समर्थकले सडकबाटै फैसला सुनाउने दुस्प्रयास गरिरहेको नेकपा सांसदको आरोप
प्रतिनिधि सभा बैठक
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद नारायणप्रसाद खतिवडाले पत्रकार शालिकराम पुडासैनीको निधनबारे टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थकहरुले सडकबाटै फैसला सुनाउने दुस्प्रयास गर्दै न्यायिक छानविनलाई प्रभावित पार्न कोशिश गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै सत्तारुढ दलका सांसद खतिवडाले रवि लामिछानेका समर्थकहरुले चितवनमा दैनिक जसो प्रदर्शन जारी राखी उक्त विषयमा भइरहेको अनुसन्धान प्रभावित पार्न खोजेको आरोप लगाएका हुन्। नुवाकोट जिल्ला निवासी पत्रकार पुडासैनीको साउन २० गते चितवन नारायणगढको पोखरा बसपार्कस्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा निधन भएको घटनाले चितवन अशान्त रहेको बताउँदै अहिले सडकहरुमा रवि लामिछानेको पक्षधरहरुको दैनिकजसो भएको प्रदर्शन र शालिकराम पुडासैनीको न्यायका निम्ति उनका आफन्तहरुले गरेका प्रदर्शनहरु गत साउन ३० गतेदेखि लगातार चलिरहेको बताए। नुवाकोटवासीहरुका मन पनि अशान्त रहेको बताउँदै उनले शालिकराम पुडासैनीका आफन्त, छिमेकी र नगरवासी, जिल्लावासीहरु जनप्रतिनिधिहरु उनको निधन हत्या हो वा दबाब र दुरुत्साहनका कारणले गरिएको आत्महत्या के हो भनि जिज्ञासा गरिरहेको पनि बताए। ‘स्वतस्फूर्तः आत्महत्या भएको भन्नेमा आम जनमानसको विश्वास छैन,’ सांसद खतिवडाले थप्दै भने, ‘अझै रवि लामिछानेका समर्थकहरु शालिकरामको भिडियो दबाबमा रेकर्ड गराइएको रवि लामिछानेलाई फसाउने षडयन्त्र रचिएको आदि आरोेप लगाइरहेका छन्।’ सांसद खतिवडाले रविका समर्थकहरुमाथि आरोप लगाउँदै भने, ‘उनका समर्थकहरु सडकबाट फैसला सुनाउँदैछन्। हुलहुज्जत गर्ने, अनुसन्धानलाई प्रभाव पार्ने कार्य गरिरहेका छन्।’ अर्कातिर शालिकरामकी पत्नी सम्झना घिमिरेसहितका परिवारहरुले शालिकरामको मृत्यु पूर्व रेकर्ड गरिएको भनिएको भिडियोको आधारमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की ‘रुकु’ले आत्महत्या गर्न दुरुत्साहन गरी बाध्य बनाएकाले निजहरुलाई अनुसन्धान गर्न किटानी जाहेरी दिएको उनले बताए। चितवन प्रहरीले जिल्ला अदालत चितवनको आदेश अनुसार न्यायिक हिरासतमा राखेर अनुसन्धान गरिरहेको अवस्थामा सडकमा पक्ष÷विपक्षका समर्थकहरुले शान्ति भंग हुनेगरी प्रदर्शन गरिरहेको बताए। ‘न्यायिक छानविनलाई प्रभाव पार्नु हुँदैन। हत्याको कुने राजनीति हुँदैन। राजनीतिकरण गर्ने दुश्साहस गरिँदैछ। यसो गर्न हुँदैन। प्रहरी प्रशासनको अनुसन्धानमा बाधा पार्न हुँदैन। सार्वजनिक जीवनलाई अशान्त हुनेगरी प्रभाव पार्न हुँदैन र छानविनलाई सबैले सहयोग गर्नु पर्छ,’ उनले भने। मृतक शालिकरा पुडासैनीको मृत्युको घटनाभित्र रहेका सबै रहस्य पत्ता लगाई वास्तविकता सार्वजनिक गर्न तथा दोषी ठहर भए जोसुकैलाई कानुनी व्यवस्थामा गरिए अनुसारको कारबाही गर्न सरकारसँग माग पनि उनले गरे।
प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update