राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले सबैतिरबाट असफल भइरहेको सरकार आफैैँ भ्रमको खेती गर्न उद्दत भएको भन्दै सरकारले माफी माग्नु पर्ने माग गरेका छन्।
मन्त्रिपरिषद्को साउन १६ गतेको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आइतबार राजेन्द्र महतो लगायत ८ जनाले गलत विवरण पेश गरी नागरिकता लिएको भन्दै उनीहरुको नागरिकता सरकारले रद्द गर्ने निर्णय गरेको जानकारी गराएको विषयमा महतोले आपत्ति जनाए।
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सरकारका प्रवक्ताले राजेन्द्र महतो लगायत ८ जनाको नागरिकता प्रमाणपत्र रद्द गरिएको भनिएको भन्दै यति गम्भिर विषयमा सरकारको निर्णय सार्वजनिक गर्दा राजेन्द्र महतो लगायत यति जनाको नागरिकता रद्द गरिएको भन्ने कुन नियतले भ्रमको खेती गरेर के गर्न खोजेको हो? भनि प्रश्न गरे।
https://twitter.com/i/status/1158316030222954496
राजेन्द्र महताको राष्ट्रियतामाथि प्रश्न उठाउने काम गरेर सरकारले के गर्न खोजेको हो भन्दै प्रश्न गरे।
यस्ता विषयमा सूचना सार्वजनिक गर्दा राजेन्द्र महतो भन्ने व्यक्ति कुन वा कहाँको हो भन्ने कुनै जानकारी नदिएर मिडियामार्फत भ्रम छरेर मान हानी गर्ने र गलत प्रसार गर्ने कार्यमा सरकार लागेको आरोप लगाउँदै उनले सरकारले माफी माग्नु पर्ने माग गरे।
उनले कुनै सूचना दिँदा कृष्णबहादुर महरा महाडकैत भएकोले उनलाई आजिवन कारवासको सजाय गरेको छ भन्ने तर, त्यो कृष्णबहादुर महरा भन्ने वा पुष्पकमल दाहाल फलानो हो भनि नाउँमात्रै भनेर सञ्चारमाध्यममा आउने कार्यले मानहानी गर्ने बताउँदै यस्ता मानहानी गर्ने कार्यमा सरकार र सञ्चारमाध्यमले गैरजिम्मेवारपूर्ण काम गरेको भन्दै सरकारले माफी माग्नु पर्ने माग दोहोर्याए।
महरा र दाहालको नाम लिएपछि सत्तापक्षका सांसद खगराज अधिकारीले नियमापत्ती गर्दै नियमावली विपरित प्रयोग गरिएका शब्द हटाउन माग गरे।
त्यसपछि पनि महतोले पुष्पकमल दाहाल फलाना हो भनि लेखिदिए वा अपराधी हो भनेर लेख्ने काम गर्नु गलत भएको बताए।
नाकाबन्दीका बेला पनि आफ्ना विरुद्ध अनर्गल प्रचार गरिएको भन्दै सरकार नै गलत प्रचार र भ्रमको खेती फैलाउने काम गर्न लागि परेको भन्दै त्यो कार्य बन्द गर्न पनि माग गरे।
त्यसको केही समयपछि पुनः सत्तापक्षका सांसद कृष्णभक्त पोखरेलले नियमापत्ती गर्दै सभामुख महरा र नेकपाका द्धितीय अध्यक्ष दाहालको नाम रेकर्डबाट हटाउन माग गरे। त्यसपछि सभामुख महराले राजेन्द्र महतोको भाषाप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै नियमावली विपरित प्रयोग भएका शब्द रेकर्डबाट हटाउन निर्देशन दिए।
प्रकाशित मिति: शुक्रबार, साउन १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय