नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल र भारतको सीमाक्षेत्रमा देखिएको डुबान समस्याबारे तत्काल कुटनीतिक पहल गरी दीर्घकालिन समाधान खोज्न जरुरी भएको बताएका छन्।
प्रतिनिधि सभामा कांग्रेस र राजपा नेपालको तर्फबाट दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै हालै तराइका बाढी र डुबानग्रस्त क्षेत्रको स्थलगत निरिक्षणगरी फर्किएका विपक्षी दलका नेता देउवाले देशको अवस्था भयावह रहेको बताए।
हालै आएको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका कारण तराइका जिल्लाहरु जलमग्न हुँदा जनता घरबारबिहिन भएर खान र बस्न समेत नपाउने भयाबह स्थितिमा रहेको देउवाले बताए।
बाढी र डुबानका कारण जनताको साथमा भएको खाद्यन्न डुबेर नष्ट हुँदा जनतालाई बिहान बेलुका खाने खाद्यन्न समेत नभएको बताउँदै उनले जनता संकट पर्दा सरकारको पहिलो कर्तव्य पीडितलाई खाद्यन्न, लताकपडा र ओत दिनु भएको बताए।
‘तर, सरकारले जसरी लाग्नु पर्ने थियो त्यो कहिपनि लाग्न सकेको छैन। सर्लाहीमा डुबानको कारण जानै नसक्ने अवस्था रहेको छ,’ देउवाले भने।
सिराहमा तटबन्ध भत्किएर सबै क्षेत्र डुबानमा परेको देख्दा लाग्छ त्यो तटबन्ध के बनाएको होला? देउवाले प्रश्न गर्दै भने। धेरै मानिसहरु विस्तापित भएको कमला नदीले तटबन्ध बगाएको साना खोला पनि बढेर त्यसक्षेत्रका जनता प्रभावित भएको सर्लाहीमा त्यहि हालत छ, सप्तरीमा उस्तै भएको बताए।
तराइका सारा गाउँ बस्न नसक्ने अवस्था छ भने उत्तरीभागमा पहिरोले जनधनको क्षति भएको छ उनले बताउँदै सुनसरीमा पनि बाढी र डुबानले समस्या पारेको बताए।
उनले जनता संकटमा पर्दा राज्यको आवश्यक पर्ने र त्यस्तो अवस्थामा राज्य उपस्थित हुन सकेको अवस्था नभएको बताउँदै खाद्यन्न पनि छैन भएको पनि डुबेको छ। पहाडको पनि समस्या उस्तै छ। यति भयावह स्थितिमा सरकारले कुनै किसिमको ध्यान दिन नसकेको आरोप लगाए।
‘सरकारको दायित्व भनेको जनतालाई दुःख परेको बेला नगरे कसले गर्ने? राजनीतिक पार्टी र नेता एक्लैले त केही गर्न सक्दैन,’ उनले भने।
भारतले नेपालको सीमा क्षेत्रमा बनाएको भौतिक संरचनाको कारण तराईका भूभाग जलमग्न भएको तर्फ लक्षित गर्दै भारत सरकारसँगको कुटनीतिक माध्यमबाट वार्ता गर्न जरुरी रहेको बताउँदै उनले भारतले नेपाललाई दोष दिने नेपालले भारतलाई दोष दिएर कतिदिनसम्म चल्छ? भनि प्रश्न गरे।
‘यो विषयमा कुटनीतिक पहल गरी स्थायी समाधान खोज्न जरुरी छ। अन्यथा यसको समस्या समाधान हुन सक्दैन,’ उनले भने।
कोशी व्यारेजको पूर्वपट्टी बाँध बाँधे बनेपछि नै पसल राखेर बसेकालाई विस्तापित हुने अवस्था रहेको छ भन्दै यसबारे पनि सरकारले कुटनीतिक पहलमार्फत समस्या पनि समाधान खोज्न जरुरी भएको बताए।
‘नेपालले नेपाली जनताको सुरक्षाबारे कुनै मतलब नगर्ने हो भने हुँदैन,’ उनले थप्दै भने, भारतसँग कुटनीतिक वार्ता गरी स्थायी समाधान खोज्न ढिला गर्नु हुँदैन।’
चूरेको दोहनका कारण नदिको सतह बढेर माथि आएको अवस्थामा पुल समेत क्षति हुने अवस्था रहेको बताउँदै उनले १० वर्ष यहि अवस्था रह्यो भने नदिको कोर्स नै परिवर्तन हुन सक्ने बताउँदै त्यसले अर्को समस्या आउने तर्फ सरकारको ध्यानाकर्षण गराए।
सरकारले अहिलेको अवस्थाबारे मतलबै राखेको छैन भन्दै उनले हेलिकप्टरबाट घुमेरमात्रै जनताले राहत नपाउने भन्दै यो समस्यामा सबै दल र नेताहरु एक भएर समाधानको उपाय खोज्न र जनतालाई राहत दिन जरुरी भएको बताए।
प्रकाशित मिति: आइतबार, साउन ५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय