हिमाल दैनिक
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले प्रतिनिधि सभामा संयुक्त रुपमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्। सर्लाहीमा असार पहिलो र दोस्रो साता भएको व्यक्ति हत्याको विषयमा संसदीय छानविन समिति गठनको माग गर्दै सदनको कारबाही अवरुद्ध पार्दै आएका दुई विपक्षी दलले बुधबार संयुक्त रुपमा बाढी, पहिरो र डुबान समस्याबारे संसदमा छलफल गरी सदनले सरकारलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिन माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन्। कांग्रेस सांसद मीनेन्द्रप्रसाद रिजाल प्रस्तावक, राजपा नेता राजकिशोर यादव र कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषाल गौतम समर्थक रहेको उक्त प्रस्तावमाथि सत्तापक्ष समेत छलफलका लागि तयार भएपछि सभामुख कृष्णबहादुर महराले आजको बैठकमा उक्त प्रस्तावमाथि छलफल गराउने भएका छन्। सदनको गतिरोध अन्त्यका लागि सभामुख महराले बुधबार सत्ता र प्रतिपक्ष दलका प्रतिनिधिहरुसँग छलफल गरी आजको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावबाहेक अन्य कार्यसूचि नराख्न तयार भएको स्रोतले बतायो। यसअघि असार २६ गतेदेखि सुरु भएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा गएको बाढी, पहिरोे र डुबानबाट सयजना भन्दा बढि नागरिकको ज्यान गएको, हजारौंको संख्यामा घरपरिवार घरवारविहिन भएको तथा अर्बौं रुपैयाँ बराबरको भौतिक संरचाना तथा कृषि उत्पादन नष्ट भएको भन्दै उक्त विषयमा सदनमा गम्भिर छलफल गरी पीडितको उद्दार, राहत तथा पुनस्थापनाका लागि विपक्षी दलले असार ३० गते संसदमा स्थगन प्रस्ताव दर्ता गराएका थिए। तर, सत्तापक्षले उक्त स्थगन प्रस्तावमाथि छलफल गर्न तयार नभएपछि सभामुख महराले सूचना जारी गर्दै आजसम्मका लागि बैठक स्थगित गरेका थिए। बुधबार अपरान्ह १ बजेका लागि डाकिएको प्रतिनिधि सभा बैठकमा विपक्षी दलको माग अनुसार नियमित कार्यसूचिमा प्रवेश नगरी बाढी, पहिरो र डुबानको विषयमा मात्रै छलफल गर्न तयार भएपछि आजको संसदमा करिब दुई घण्टा उक्त प्रस्तावमाथि छलफल हुने भएको छ। अपरान्ह १ बजेकाे सट्टा २ः३० बजेका लागि सारिएकाे बैठकमा प्रस्तावक, समर्थक र अन्य सांसदहरुले उक्त विषयमा आफ्ना धारणा राखिसकेपछि गृहमन्त्री रामबहादुर थापाले जवाफ दिने तयारी गरिरहेका छन्।
प्रकाशित मिति: आइतबार, साउन ५, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update