प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले देशका विभिन्न भागमा भएको बाढी, पहिरोको क्षति लगायतको विषयमा दर्ता गरेको स्थगन प्रस्तावमाथि छलफलका लागि तयार भएपनि सत्तापक्ष तयार नभएपछि सोमबारको प्रतिनिधि सभा बैठक प्रभावित हुने भएको छ।
सर्लाहीको घटना लगायतका विषयलाई लिएर सदन अबरुद्ध पार्दै आएका कांग्रेस र राजपाले हालै देशका विभिन्न भागमा अविरल वर्षापछि बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिप्रति सदनमा गम्भिर छलफलका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका थिए।
विपक्षी दलले सदनको अन्य कारबाही बाहेक बाढी, पहिरो र डुबान पीडितको उद्धार, राहत तथा पुनस्र्थापनाको विषयमा सदनमा छलफल गरी बाँकी कारबाही स्थगन गर्न राखेको प्रस्तावमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले अरु कारबाही अबरुद्ध गरेर स्थगन प्रस्तावमाथि मात्रै छलफल हुन नसक्ने अडान लिएको छ।
सभामुख कृष्णबहादुर महराले आजको बैठक सुचारु गराउने विषयमा सत्ता र प्रतिपक्षी दलका प्रतिनिधिहरुसँग गरेको परामर्शका क्रममा सत्तापक्षले सदन सूचारु गराउने तथा स्थगन प्रस्तावमाथि आफूहरु छलफलका लागि तयार नभएपछि विपक्षी दलले सदनको अवरोध कायमै राख्ने स्थिति उत्पन्न भएको हो।
फलस्वरुप सभामुख महराले आजको बैठकमा सत्ता र प्रतिपक्षीबीच कुरा नमिलेपछि सूचना टाँस गरी बैठक स्थगित गर्ने सम्भावना रहको संसद सचिवालय स्रोतले बतायो।
प्रकाशित मिति: शुक्रबार, असार २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय