सर्लाही घटनाबारे संसदीय समिति गठनमा सत्ता पक्ष तयार नभएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको प्रतिनिधि सभा बैठक अवरोध गर्ने भएको छ।
सरकारकै गृहमन्त्रीले संसदीय समिति गठनका लागि सहमति जनाएको र सभामुखले परामर्श गरी गठन गर्ने कोशिश गर्दा सत्तापक्ष तयार नभएपछि सदन चल्न नसक्ने जानकारी कांग्रेसका एक सांसदले दिए।
गृहमन्त्री रामबहादुर थापाले सर्लाही घटनाको विषयमा संसदले छानविन समिति गठन गरे आफूलाई आपत्ति नहुने अभिव्यक्ति दिएपछि सरकारकै अर्का मन्त्री र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरु समिति गठनमा तयार नभएपछि प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ।
सर्लाहीमा नक्कली मुठभेडको नाममा नेत्रविक्रम चन्द समूहका कुमार पौडेललाई मारिएको तथा खाल्डोमा डुबेर मरेका ११ वर्षीय बालकको विषयमा स्थानीयहरु आक्रोशित भइ गरेको अवरोधमा प्रहरी चलाएको गोलीबाट सरोज नारायण सिंह हत्या भएको विषयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले संसदीय समिति गठनको माग गरेका थिए।
सोही विषयमा मंगलबारको प्रतिनिधि सभा बैठक अबरुद्ध भएपछि बुधबार अपरान्ह १ बजेका लागि डाकिएको बैठक पूर्व सभामुख कृष्णबहादुर महराले प्रमुख दलका सचेतक र नेताहरुसँग सहमतिको प्रयास गरेका थिए।
तर, गृहमन्त्री थापाको सहमति भएपनि कानून मन्त्री भानुभक्त ढकाल, नेकपाका मुख्य सचेतक देबप्रसाद गुरुङ, नेकपा नेताहरु खगराज अधिकारी, सांसद कृष्णभक्त पोखरेल लगायतले सर्लाही घटनालाई सानो तिनो घटनाको रुपमा लिँदै यस्ता विषयमा संसदीय समिति गठन गरेर गलत परम्पराको थालनी गर्न नहुने जिकिर गर्दै आएका छन्।
उनीहरुले मंगलबारको छलफलमा जस्तै आज भएको छलफलमा पनि सर्लाहीको घटनाबारे राज्य व्यवस्था समितिको माध्यमबाट अध्ययन गरी प्रतिवेदन दिए हुने भन्दै संसदीय समितिको आवश्यक नभएको जिकिर गरेपछि संसदको बैठक बस्न सकिरहेको छैन।
उता प्रमुख प्रतिपक्षी दल कांग्रेससँगै राजपाले पनि संसदीय समितिको गठनका लागि अडान छाडेका छैनन्।
यसैबीच सत्तारुढ समाजवादी पार्टी नेपालका नेता बाबुराम भट्टराइले कुमार पौडेलको मुठभेडका नाममा टाउकोमा गोली हानी गरिएको हत्याको संसदीय छानवीन गर्न क्रान्तिबाट सत्तामा पुगेका कमरेडहरू डराउनुको रहस्य के होला भनि प्रश्न गरेका छन्।
आफ्नो ट्वीटरमार्फत भट्टराइले हिजो यस्तै घटना हुँदा तपाईहामी सबैले विरोध गरेका हैनौं र,कमरेडहरू? यसैकालागि थियो क्रान्ति? भन्ने प्रश्न गर्दै छानविन समिति गठनको पक्षमा आफ्नो धारणा राखेका छन्।
प्रकाशित मिति: आइतबार, असार २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय