सर्लाही घटनाको छानविनका लागि संसदीय समिति गठन गर्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तयार नभएपछि प्रतिनिधि सभाको बैठक बुधबारसम्म सूचना टाँसगरी स्थगित भएको छ।
सर्लाहीमा हालै भएका दुई बेग्लाबेग्लै घटनामा तीन जनाको मृत्युको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग अनुसार संसदीय छानविन समिति गठन गर्न सरकारका गृहमन्त्री रामबहादुर थापाले सदनमार्फत नै सहमति जनाएका थिए।
सभामुख कृृष्णबहादुर महराले पनि सबै राजनीतिक दलको परामर्शमा समिति गठनबारे निर्र्णय लिने भनि आश्वासन दिएपनि विपक्षी दलले तत्काल समिति गठन नभएसम्म सदन चल्न नसक्ने भन्दै मंगलबारको बैठकमा वेल घेराउ गरे।
त्यसपछि महराले बोलाएको सर्वदलीय परामर्शमा नेकपाका नेता खगराज अधिकारीले चर्को विरोध जनाएपछि छानविन समिति गठनको विषयमा सहमति जुट्न नसकेको एक नेताले बताए।
त्यसपछि सभामुख महराका प्रेस सहयोगी डिल्ली मल्लले दलका प्रमुख सचेतक र सचेतक लगायत प्रतिनिधिहरुको छलफलमा सहमति हुन नसकेपछि बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए।
सर्लाहीमा राज्यले दमन गरी निहत्था मानिसहरु मारेको भन्दै कांग्रेससँगै राजपाले पनि विरोध गर्दै संसदीय समिति गठनको माग गरेपछि उक्त समिति गठनको विषयमा सत्तापक्ष तयार नभएको हो।
केही दिन अघि सर्लाहीमा नेत्रविक्रम चन्द विप्लव समूहका नेता कुमार पौडेलको नियन्त्रणमा लिएपछि यातना दिएर गोली हानी हत्या भएको, इश्वरपुर नगरपालिकामा अवैध ढुंगा, गिट्टी उत्खनन गर्ने क्रसर व्यवसायीले खनेको खाल्डोमा ११ वर्षीय बालक अमित रायको निधन भएको तथा सोही विषयमा विरोधमा उत्रिएका नागरिकमाथि प्रहरीले गोली चलाउँदा सरोज रायको निधन भएको थियो।
उक्त विषयलाई लिएर विपक्षी दल कांग्रेसले सरकारको जवाफ मागेपछि गृहमन्त्री रामबहादुर थापाले लोकतन्त्रको रक्षाका लागि प्रहरीले गोली चलाउँदा पौडेल र सरोज रायको मृत्य भएको जवाफ दिएपछि कांग्रेस सांसदले आपत्ति प्रकट गर्दै संसदीय छानविन समिति गठनको माग गर्दै मंगलबार सदन घेराउ गरेका थिए।
गृहमन्त्री थापाले जवाफका क्रममा संसदले छानविन समिति गठन गरे सरकारको कुनै आपत्ति नहुने र सभामुख कृष्णबहादुर महराले सबै दलसँग परामर्श गरी समिति गठनबारे निर्णय लिने भन्दै आजको संसद बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए।
प्रकाशित मिति: शनिबार, असार २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय