हिमाल दैनिक
सर्लाही घटनाबारे संसदीय छानविन समिति गठन गर्न गृहमन्त्री र सभामुख तयार, नेकपाले मानेन
griha-01
सर्लाहीमा हालै भएका दुई बेग्लाबेग्लै घटनामा तीन जनाको मृत्यु भएको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको माग अनुसार संसदीय छानविन समिति गठनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी तयार नहुँदा प्रतिनिधि सभाको बैठक प्रभावित भएको छ। सर्लाहीमा राज्यले दमन गरी निहत्था मानिसहरु मारेको भन्दै कांग्रेससँगै राजपाले पनि विरोध गर्दै संसदीय समिति गठनको माग गरेपछि उक्त समिति गठनको विषयमा सत्तापक्ष तयार नभएको हो। केही दिन अघि सर्लाहीमा नेत्रविक्रम चन्द विप्लव समूहका नेता कुमार पौडेलको नियन्त्रणमा लिएपछि यातना दिएर गोली हानी हत्या भएको, इश्वरपुर नगरपालिकामा अवैध ढुंगा, गिट्टी उत्खनन गर्ने क्रसर व्यवसायीले खनेको खाल्डोमा ११ वर्षीय बालक अमित रायको निधन भएको तथा सोही विषयमा विरोधमा उत्रिएका नागरिकमाथि प्रहरीले गोली चलाउँदा सरोज रायको निधन भएको थियो। उक्त विषयलाई लिएर विपक्षी दल कांग्रेसले सरकारको जवाफ मागेपछि गृहमन्त्री रामबहादुर थापाले लोकतन्त्रको रक्षाका लागि प्रहरीले गोली चलाउँदा पौडेल र सरोज रायको मृत्य भएको जवाफ दिएपछि कांग्रेस सांसदले आपत्ति प्रकट गर्दै संसदीय छानविन समिति गठनको माग गर्दै मंगलबार सदन घेराउ गरेका थिए। गृहमन्त्री थापाले जवाफका क्रममा संसदले छानविन समिति गठन गरे सरकारको कुनै आपत्ति नहुने र सभामुख कृष्णबहादुर महराले सबै दलसँग परामर्श गरी समिति गठनबारे निर्णय लिने भन्दै आजको संसद बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। त्यसपछि बसेको बैठकमा सत्तारुढ नेकपाका नेताहरुले संसदीय समिति गठनमा तयार नभएपछि सदनको कारबाही सुचारु गराउने विषयमा विलम्ब भएको छ। अहिले पनि सभामुख महराले दलहरूसँग परामर्श गरी सहमतिकाे प्रयास गरिरहेका छन्।
प्रकाशित मिति: शनिबार, असार २१, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update