नेपाली कांग्रेसकी सचेतक पुष्पा भुषालले देशको प्रधानमन्त्रीले तरकारी र फलफूलको विषादी परिक्षणबारे कहिकतैबाट पत्र नआएको भनि सफेद झुट बोलेर देश र जनताको भावनामाथि खेलवाड गरेको आरोप लगाइन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सचेतक भुषालले देशमा संविधान, राज्य, कानून छ कि छैन भनि प्रश्न गरिन्।
भारत लगायत तेस्रो मुलुकबाट आउने तरकारी तथा फलफूलको विषादी परिक्षणको विषयमा भारतीय दूतावासमार्फत परराष्ट्र मन्त्रालय हुँदै आपूर्ति मन्त्रालयलाई परिक्षण नगर्न आएको पत्रबारे प्रधानमन्त्री केपी शर्मा ओली र सरकारका मन्त्रीहरुले त्यस्तो पत्र नआएको दाबी गरेका थिए।
तर, सोमबार र मंगलबार विभिन्न पत्रपत्रिका र संचार माध्यमले भारतीय पक्षबाट विषादी परिक्षणमा रोक लगाउन पठाएको पत्र सार्वजनिक भएपछि विपक्षी दलले यो विषयलाई सदनमा गम्भिरतापूर्वक उठाएको हो।
मंगलबारको बैठक सुरु गर्नासाथ सभामुखसँग विशेष समय लिएर बोल्दै सचेतक भुषालले सरकारलाई तीन करोड जनसंख्या बढि लाग्यो कि के हो त्यसैले विषादी परिक्षण नै नगरी तरकारी र फलफूलको माध्यमबाट जनतालाई मन्द विष खुवाएर जनसंख्या घटाउन लागेको हो? भनि प्रश्न गरिन्।
विदेशी नियोगबाट आएको पत्र परराष्ट्र मन्त्रालयमार्फत आपूर्ति मन्त्रालयमा पुग्छ तर, प्रधानमन्त्रीले कुन पत्र, कहाँबाट कहिले आएको भन्ने सफेद झुट दिएको र मन्त्रीहरुले पनि जनतालाई ढाँटेको आरोप उनले लगाइन्।
संविधानले नै जनताको स्वास्थ्य तथा खाद्य अधिकारको प्रत्याभूति गरेपनि सरकारले जनताको संवैधानिक अधिकारको विपरित विदेशबाट आयात गरिएको तरकारी र फलफूलको विषादी परिक्षण नगरी जनतालाई मन्द विष खुवाएर जनताको जीवनमाथि खेलवाड गरेको आरोप पनि लगाइन्।
त्यसैगरी उनले सर्लाहीमा केही समय अघि नियन्त्रणमा लिएर नेत्रविक्रम चन्द समूहका नेता कुमार पौडेललाई पक्राउ गरी हातखुट्टा भाँचेर नक्कली भिडन्तको नाममा हत्या गरेको तथा अर्को घटनामा बालुवा, गिट्टी तस्कर गर्नेले खनेको खाल्डोमा परी मरेका बालकको विषयमा सुरक्षा खोजी आएका जनतामाथि गोली चलाएर अर्को नागरिकको हत्या गरको आरोप लगाइन्।
भुषालले यी विषयमा आपूर्ति मन्त्री र गृहमन्त्रीले सदनसमक्ष चित्तबुझ्दो जवाफ नदिए सदन चलाउन सहयोग गर्न नसक्ने चेतावनी दिइन्।
त्यसैगरी राजपा नेता राजकिशोर यादवले पनि यी विषयमा गम्भिर आपत्ति प्रकट गर्दै यदि मन्त्रीले हेर्दै नहेरी र पढ्दै नपढी निर्णय गर्नेहो भने एकदिन पढ्दै नपढी देश नै अर्कोलाई बुझाए के गर्ने भनि प्रश्न गरे।
प्रकाशित मिति: शनिबार, असार २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय