सांसद प्रमोद साहले मधेशप्रति सरकार असहिष्णु बनेको, समातेर हात गोडा बाँधेर गोली हान्नेको घटना निन्दनीय रहेको बताए । यही असार १४ गते सर्लाही क्षेत्र नं १ स्थित बाँके खोलामा परी जीवन गुमाएका बालकको डोरी ल्याएर निकाल्नु भनी जिल्लाका प्रहरी प्रमुख पाँच मिनेटमा हिँडेको घटना आपत्तिजनक रहेको उनले संसद्मा सुनाए ।
बाँके खोलामा पाँच वटा क्रसर यन्त्र राखी प्रहरी प्रशासनको मिलेमतोमा अवैधरूपमा बालुवा, गिटीलगायत नदीजन्य सामग्री उत्खनन् भइरहेको सांसद साहले बताए । वातावरणीय अध्ययन नगरी नदी उत्खनन् भएको पनि उनले बताए। अवैधरूपमा भइरहेको कामले बनेको खाडल पानी र बालुवाले पुरिए पनि बालक खेल्दै जाने क्रममा डुबेर मरेको घटनामा प्रहरी प्रशासनको गैर जिम्मेवारीको सीमा नाघेको यो घटनाबाट देखिएको सांसद साहले बताए । प्रहरीका उच्च अधिकारीलाई यस विषयमा जानकारी गराउँदा तल्लो तहका कर्मचारीलाई फोन उठाउन लगाएको उनले सुनाए।
न्याय माग्न शव लिएर राजमार्ग पुगेका स्थानीयवासीमाथि टेन्टभित्र छिरेर लाठीचार्ज गरी दमन गरेको भन्दै उनले यस सम्बन्धमा आयोग गठन गरेर छानविन गर्न माग गरे। संविधानविपरीत आएका विधेयक फिर्ता लिन, विषादीयुक्त तरकारीको आयात रोक्न, पूर्वन्यायाधीश गिरीशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि उनले माग गरे । गृहमन्त्रीको जवाफ नआएसम्म संसद्मा उभिएर विरोध गर्ने उनले बताए । सभामुख महराले संसद्को अर्को बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरे।रासस
प्रकाशित मिति: बिहीबार, असार १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय