अमेरिकाको मिसिसीपी राज्यमा केही दिनयता गरिएको खोजी अभियानका क्रममा कम्तीमा पनि १२२जना मेक्सिकन पक्राउ परेका छन् ।
मेक्सिकोको विदेश मन्त्रालयले बिहीबार एक विज्ञप्तिमार्फत सो जानकारी गराएको समाचारमा जनाइएको छ ।
उक्त राज्यका विभिन्न खाद्यान्न प्रशोधन केन्द्रहरुमा अमेरिकी प्रहरीले गरेको खोजी अभियानका क्रममा ती अवैध रुपमा काम गरिरहेका आप्रवासीहरुलाई नियन्त्रणमा लिइएको प्राप्त समाचारमा जनाइएको छ ।
मेक्सिकोको विदेशमन्त्री मार्सेलो एबराडले केही समयअघि १०७ जना मेक्सिकन अमेरिकाको मिसिसीपीमा पक्राउ परेका जानकारी दिएको थियो । तर बिहीबार सो तथ्यांक अद्यावधिक गर्दै १२२ जना नागरिक पक्राउ परेको जानकारी गराएका हुन् ।
अमेरिकामा बुधबारमात्र वैधानिक कागज बिना नै अमेरिकामा बसेर काम गरिरहेका ६८० जना मेक्सिकन पक्राउ परेको बताइएको थियो । ती मध्ये कतिपय अदालतको आदेशबाट रिहा भइसकेका छन् ।
विदेशमन्त्री मार्सेलोले ती नागरिकलाई मेक्सिकोको तर्फबाट कानुनी परामर्श र आवश्यक कानुनी दस्ताबेजहरु उपलब्ध गराइएको जानकारी पनि दिएका छन् ।
अमेरिकाका खाद्यान्न केन्द्रहरुमा कार्यरत मेक्सिकन नागरिकहरुमध्ये अमेरिकाले पहिलो पटक एकैदिन यतिधेरैलाई पक्राउ गरेको पनि उहाँले बताउनुभएको प्राप्त समाचारमा जनाइएको छ ।
ती पक्राउ परेकाहरु अमेरिकामा विना कागजात नै बसेर काम गर्दै आएका नागरिक रहेको अनुमान गरिएको छ । तर उनीहरुसँग के कति कागजात छन् भन्ने बारेमा भने कुनै जानकारी गराइएको छैन ।
पियु रिसर्च सेन्टरको एक तथ्यांकले अमेरिकामा कम्तीमा पनि ४९ लाख मेक्सिकनको बसोबास रहेको बताएको छ ।(रासस÷सिन्ह्वा)
प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय