हिमाल दैनिक
लिबिया संकटः सर्वसाधारणमाथि आक्रमण नगर्न युनिसेफको आग्रह
libya
संयुक्तराष्ट्र बालकोष (युनिसेफ) ले सर्वसाधारण जनतामाथि जथाभावी आक्रमण नगर्न लिबियाका द्वन्द्वरत पक्षहरुलाई आग्रह गरेको छ । लिबियामा हाल राष्ट्रसंघको समर्थनप्राप्त सरकार र पूर्वी क्षेत्रमा सक्रिय विद्रोही लडाकूबीच सशस्त्र संघर्ष जारी छ । युनिसेफद्वारा जारी विज्ञप्तिमा लिबियाको दक्षिणीमा रहेको मुर्जुक शहरमा भएको एउटा आक्रमणमा मारिएका अधिकांश व्यक्तिहरुमा महिला र बालबालिका परेकामा खेद व्यक्त गरिएको छ । वक्तव्यमा महिला र बालबालिका समेतका निहत्था जनतामाथि कुनै पनि किसिमबाट आक्रमण नगर्न युनिसेफ युद्धरत दुबै पक्षसँग आग्रह गर्दछ भनिएको छ । गत आइतबार मुर्जुकमा भएको हवाई आक्रमणमा ४० जनाभन्दा बढी सर्वसाधारणको ज्यान जानुका साथै ५० जनाभन्दा बढी घाइते भएका थिए । लिबिया सरकारले उक्त आक्रमणको निन्दा र भत्र्सना गरेको छ । सरकारले राष्ट्रसंघलाई उक्त आक्रमणको स्वतन्त्र छानबिन गरी अपराधीहरुमाथि गम्भीर मानव अधिकार उल्लंघनको आरोपमा मुद्दा चलाउन आग्रह गरेको छ । लिबियाली सेनाले भने शहरमा अखडा जमाएर बसेका चाडका लडाकूलाई केन्द्रित गरेर हवाई आक्रमण गरेको जनाएको छ । सेनाले मुर्जुक शहरलाई गत फेब्रुअरीदेखि नियन्त्रणमा लिइराखेको छ । गत अप्रिलदेखि लिबियाको त्रिपोलीलाई केन्द्र बनाएर भिषण युद्ध जारी छ । यसक्रममा एक हजारभन्दा बढीको ज्यान गइसकेको छ भने पाँच हजार ७०० घाइते भएका छन् । युद्धबाट ज्यान जोगाउन करिब एक लाख २० हजार मानिस आफ्ना घर छाडेर अन्यत्र विस्थापित भएका छन् । लिबियाली संकटमा विश्व जनमत नै पूर्वी र पश्चिमी सरकारको समर्थनमा विभाजित छ ।(रासस-सिन्ह्वा)
प्रकाशित मिति: आइतबार, साउन १९, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update