क्यानाडाली कम्पनी बम्बार्डियरले इजिप्टको राजधानी कायरोमा दुई वटा स्वचालित मोनोरेल लाइन बनाउन चार अर्ब ५० करोड अमेरिकी डलरमा सम्झौता गरिएको जनाएको छ ।
राजधानी कायरोको अति व्यस्त सवारी चापको व्यवस्थापनका लागि नयाँ मोनोरेलको निर्माणले ठूलो सहजता ल्याउने बताइएको छ ।
यी मोनोरेलबाट प्रतिघण्टा करिब ४५ हजार यात्रुलाई गन्तव्यसम्म पु¥याउने सकिने कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष ड्यानी डी पर्नाले कायरोको अस्तव्यस्त ट्राफिकलाई व्यवस्थापन गर्न यस परियोजनाले ठूलो सहयोग पु-याउने बताए ।
कम्पनीद्वारा जारी विज्ञप्तिमा आगामी ३० वर्षसम्म मोनोरेलको निर्माण, विकास र मर्मतसम्भारमा तीनवटा कम्पनी मुख्यरुपमा जिम्मेवार रहने उल्लेख छ ।
कायरोमा हाल करिब दुई करोडभन्दा बढी मानिसको बसोबास छ ।
मोनोरेलको पहिलो लाइन ३४ माइल (५४ किलोमिटर) को हुनेछ जसले कायरोको पूर्वी भागबाट नयाँ प्रस्तावित प्रशासकीय राजधानीलाई जोड्नेछ । दोस्रो लाइन भने २६ माइलको हुनेछ, र यसले गिजा नगरलाई जोड्नेछ ।
बम्बार्डियरले यसअघि ब्राजिलको साओपाउलो, थाइल्यान्डको बैंकक र चीनको उहुमा मोनोरेल निर्माण र सञ्चालन गरिरहेको छ ।(रासस-एएफपी)
प्रकाशित मिति: शनिबार, साउन १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय