हिमाल दैनिक
न्यूयोर्कमा जन्म, टेलिग्राफमा पत्रकारिता गर्दै बेलायतको प्रधानमन्त्रीसम्म जोनसनको यात्रा
D_W0IexXoAErdYe
कन्जर्भेटिभ पार्टीका नेता बोरिस जोनसनले पार्टीको नेतृत्वका लागि भएको निर्वाचनमा मङ्गलबार विजय प्राप्त गर्नुभएको छ । नेता जोनसनको जन्म सन् १९६४ जुन १९ मा अमेरिकाको न्यूयोर्क शहरमा भएको थियो । सन् १९८३ मा एटन कलेजमा विद्यालयस्तरको शिक्षा प्राप्त गरी अक्सफोर्ड बालिओल कलेजबाट चारबर्ष पछि स्नातक पास गर्नुभएको थियो । सन् १९८७ देखि करिब दुई बर्ष द टाइम्स पत्रिकामा काम गर्नुभएको थियो । जोनसनले सन् १९८९ देखि १९९४ सम्म टेलिग्राफको युरोपेली संघको सम्वाददाताका रूपमा काम गर्नु भएको थियो । उहाँले सन् १९९९ देखि २००५ सम्म द स्पेक्टेटर नामक खबर पत्रिकामा काम गर्नुभयो तर सन् २००१ मा नै उहाँ लण्डन नजिकैको हेन्ली क्षेत्रबाट संसद सदस्य बन्नुभएको थियो । उहाँ सन् २००५ मा उक्त क्षेत्रबाट पुनः निर्वाचित हुनुभयो । सन् २००८ मा विपक्षी नेता केन लिभिङ्सटनलाई पराजित गर्दै लण्डनको नगर प्रमुख (मेयर) बन्नुभयो । उहाँ सन् २०१२ मा पनि लण्डनको मेयरका रूपमा निर्वाचित हुनुभएको थियो । सन् २०१५ मा अक्सब्रिज र साउथ रस्लीप क्षेत्रबाट संसदमा प्रतिनिधित्व गर्नुभयो भने सन् २०१७ मा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभयो । सन् २०१६ मा भएको ब्रेक्जिटको पक्षमा मतदान गरेका बेलायतीहरूलाई सक्रिय अभियानका साथ नेतृत्व गरेका उहाँले तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरूनको राजिनामा पछि भएको सरकारमा विदेशमन्त्रीको जिम्मेवारी सम्हाल्नुभयो । तर प्रधानमन्त्री टरिजा मेका ब्रेक्जिटसम्बन्धी रणनीतिप्रति विमति राख्दै सन् २०१८ जुलाई ९ मा राजिनामा दिनुभयो । उहाँले सन् २०१९ को जुलाई २३ अर्थात् मङ्गलबार प्रधानमन्त्री मेको स्थानमा पार्टी नेताको जिम्मेवारीका लागि निर्वाचित बन्नुभएको छ । उहाँले बुधबार महारानी एलिजावेथ द्वितीयसँगको भेटघाट र औपचारिक समारोहबीच बेलायती प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने कार्यक्रम तय भएको छ । रासस/एएफपी
प्रकाशित मिति: शनिबार, साउन ४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update