हिमाल दैनिक
आगामी आर्थिक वर्षको लागि प्रदेश नं ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले रु ४७ अर्ब ६० करोड ८० लाख ८९ हजारको बजेट पेश गरेका छन्। आइतबार बसेको प्रदेश सभा बैठकमा मन्त्री ढुङ्गेलले आ.व. २०७६÷०७७ को बजेट पेश गर्दै उक्त बजेटमध्ये चालू खर्चका लागि २४ अर्ब ४० करोड ७९ लाख तथा पूँजीगत खर्च २२ अर्ब ८३ करोड ८९ लाख ९६ हजार र वित्तीय व्यवस्थापनका लागि ३० करोडको बजेट छुट्याएका छन्। प्रस्तावित बजेटले प्रदेशको १३ वटै जिल्लामा राष्ट्रिय गौरवको आयोजना कृषि उत्पादन, पर्यटन, अस्पतालको स्तरोन्नति, बाँझो जग्गामा सामूहिक खेती गर्ने अभियानलाई उच्च प्राथमिकता दिइएको उनले बताए। बजेटमा प्रदेशको १० जिल्लामा गरिबी न्यूनीकरण गर्ने कार्यक्रम, कृषि, वनलाई संरक्षण गर्ने १३ वटै जिल्लामा छोरी–बुहारीलाई उच्च शिक्षासम्म अध्ययन गराउने अभियानलाई तीव्रता दिइने, पोष्टबहादुर बोगटी भीमफेदी कुलेखानी सुरुङ मार्गलाई निर्माणको अग्रतामा बजेट छुट्याइएको बताइएको छ। प्रदेश सरकारले सङ्घीय सरकारसँग समन्वय गरेर आगामी २०७८ सालसम्ममा पेट्रोलबाट चल्ने सवारी साधनलाई उन्मूलन गरी विद्युतीय सवारी साधन सञ्चानलका लागि उच्च प्राथमिकता राखी बजेट क्रमशः छुट्याइँदै लगिएको मन्त्री ढुङ्गेलले जानकारी दिए।
प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update