नजिकिएको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै धमाधम विमान भित्र्याइरहेको निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो व्यावसायिक गन्तव्य पनि विस्तार गर्ने भएको छ ।
व्यवसायिकतासँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सहयोग पु-याउने उद्देश्यका साथ थपिएका एटीआर विमानलाई पुराना गन्तव्यका साथै थप नयाँ गन्तव्यमा पनि उडान भर्ने कम्पनीले जनाएको हो ।
यतीले आफ्नो सेवा विस्तारका क्रममा पाँचौँ ‘एटीआर–७२–५००’ विमान शनिबार काठमाडौँ भित्र्याएको थियो । योसँगै कम्पनीसँग अब पाँच वटा एटीआर विमान छन् । नयाँ विमानले हालकै गन्तव्य तथा छिट्टै धनगढीमा पनि उडान सुरु गर्ने एयरलाइन्सका वरिष्ठ प्रबन्धक तथा प्रवक्ता भीमराज राईले जानकारी दिए ।
यतिले अहिले चन्द्रगढी, विराटनगर, जनकपुर, पोखरा, भैरहवा र पर्वतीय उडान ‘माउन्टेन फ्लाइट’ सेवा दिइरहेको छ । नयाँ एटीआर विमान सञ्चालनमा आउन झण्डै दुई महिना लाग्नेछ । यतिले एक साताअघि पोखरामा पनि एटीआर विमानबाट सेवा सुरु गरेको घोषणा गरेको थियो ।
सन् १९९८ देखि उडान सेवा शुरु गरेको यतीसँग हाल एटीआर तथा पाँच जेटस्ट्रिम विमान र भगिनी संस्था तारा एअरको दुई डोर्निओर डीओ २२८ र चार ट्वीनअटर विमान छन् ।रासस
प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय