आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सुशासनको प्रत्याभूति गर्न बनेको विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रदेश नं ५ को प्रदेशसभामा आज प्रस्तुत गरेका छन् ।
मन्त्री केसीले सभामा प्रस्तुत गरेको सो विधेयक प्रदेश मामिला तथा कानून समितिमा दफावार छलफलका लागि सर्वसम्मतिले पठाइएको प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले घोषणा गरे ।
त्यसैगरी अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक सभाको बैठकमा पेश गरेका छन् । यस्तै प्रदेश नं ५ को प्रदेशसभामा दुई विधेयक प्रमाणीकरणसम्बन्धी विषय प्रदेशसभालाई जानकारी दिइएको छ । सभामुख घर्तीले प्रमाणीकरण भएका दुई विधेयक प्रदेशसभामा पढेर सुनाएका थिए ।
प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रदेश नं ५, प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ प्रमाणीकरण गरेका थिए ।
यसैबीच प्रदेश नं ५ को प्रदेशसभामा बोल्ने प्रदेशसभासदस्यले पाटे बाघको आक्रमणबाट मृत्यु भएकालाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेका थिए। प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीले बाघको आक्रमणबाट मृत्यु भएका दुवै जनालाई उचित क्षतिपूर्तिको माग गरे ।
उनले जङ्गली जनावर र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्नसमेत आग्रह गरे । प्रदेशसभासदस्य दिपेश थारुले कर्णाली नदी नियन्त्रणको काम अलपत्र परेको भन्दै छिटो सञ्चालनमा ल्याउन आग्रह गरे । अर्का सदस्य माला गोतामेले चाडपर्वको समयमा कालोबजारी रोक्न सुपथ पसल सञ्चालन गर्न आवश्यक भएको बताईन। रासस
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय