हिमाल दैनिक
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र, मानव अधिकार र नागरिकको मौलिक हकको रक्षाका लागि कुनै पनि दिन आन्दोलनमा उत्रनु पर्ने स्थिति आउन सक्ने अवस्था रहेको भन्दै त्यसका लागि कार्यकर्तालाई तयारी अवस्थामा रहन आग्रह गरेका छन्। पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले चार नम्बर प्रदेशको भैरहवामा सुरु गरेको प्रदेशस्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले प्रजातन्त्रका लागि राणाशासन, पञ्चायत र राजा ज्ञानेन्द्रविरुद्ध लडेको कांग्रेसले यसको रक्षार्थ कसैलाई नछाड्ने बताए। सामान्यतयः कुनै पनि कार्यक्रममा ५ देखि ७ मिनेटको भन्दा बढि लामो भाषण नगर्ने देउवाले आज भैरहवामा सम्भवत् पछिल्लो समयमा सबैभन्दा लामो अर्थात झण्डै १९ मिनेट लामो भाषण गरे। यसअघि स्थानीय तहको निर्वाचन प्रचार प्रसारका क्रममा धनगढी उपमहानगरपालिकाको चुनावी सभामा १४ मिनेट लामो भाषण गरेका थिए। प्रजातन्त्रमाथि फेरि पनि खतराको संकेत आएको भन्दै उनले भने, ‘कुनै दिन प्रजातन्त्रको खिलाफमा यो सरकार जाँदा फेरि पनि कांग्रेस त्यसको रक्षाका लागि लड्न पर्ने दिन आउन सक्छ। राणालाई फाल्यौँ, पंचायतलाई ढाल्यौँ र ज्ञानेन्द्रलाई ढलाएको कांग्रेसले यदि वर्तमान केपी ओली नेतृत्वको सरकार प्रजातन्त्रको खिलाफमा गयो भने हामी ओलीलाई पनि छाड्दैनौँ।’ आफूले चुनावकै समयमा कम्युनिष्टको सरकार आयो भने बोल्न पनि पाइँदैन भनेको भनाई स्मरण गर्दै अहिले त्यो सत्य सावित हुँदै गएको दाबी देउवाले गरे। अहिलेको सरकारले लोकतान्त्रिक शासन व्यवस्था र संविधान तथा अन्तर्राष्ट्रिय मान्यता विपरित मानव अधिकार आयोगको अधिकार कटौती गरेर आयोगलाई महान्यायाधिवक्ताको मातहतमा राख्ने दुश्प्रयास गरिरहेको आरोप लगाए। साथै उनले मिडिया काउन्सिल विधेयकमा प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान र चर्को जरिवानाको व्यवस्था राखेर मानिसको बोल्न, लेख्न पाउने मौलिक हकमाथि धावा बोलेको आरोप पनि लगाए। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र पारदर्शीताको कुरा गरेपछि जवाफमा उनले पारदर्शीताको नाममा अब केन्द्रीय कार्यसमिति बैठकभित्र मिडियालाई पनि खुला गर्ने बाहेक अरु विकल्प नभएको बताए। कतिपय नेताहरुले केन्द्रीय कार्यसमितिमा एउटा कुरा गर्ने र बाहिर अर्कै कुरा गर्ने गरेको भन्दै उनले भने, ‘केन्द्रीय कार्यसमिति बैठकमा सबै मिडियालाई ओपन गरिदिए भयो। भित्र एउटा कुरा बाहिर अर्को कुरा गर्ने हो भने भित्रको सबै कुरा देखाइदिए भयो। अब पारदर्शीता गरिदिएपछि केही बाँकी रहँदैन।’ आफ्नो पार्टीको नयाँ विधान जत्तिको बढि समावेशी, समानुपातिक र लोकतान्त्रिक अरु कुनै दलको नभएको बताउँदै पार्टीभित्र आफ्नो समूहको प्रतिनिधित्वको आधारमा मतदाताको संख्या पनि बढाउन तर्फ सबैलाई केन्द्रीत हुन निर्देशन दिए। राजनीति भनेको भोटमै आधारित भएको बताउँदै उलने असली राजनीति भोटकै भएकोले भाषणले मात्रै नहुने बताए। पार्टीभित्र आफूभन्दा धेरै राम्रोे भाषण गर्र्ने नेताहरुले पनि चुनावमा हारेको बताउँदै चुनाव जित्नका लागि भाषण भन्दा जनताको चाहना र भावना बमोजिम उनीहरुको माझमा गएर काम गर्न र मन जित्न पर्नेैमा देउवाले जोड दिए। प्रशिक्षण प्रतिष्ठानले कार्यकर्तालाई प्रशिक्षण दिने सवालमा उनले चुनाव कसरी जित्ने भन्ने कुरामा केन्द्रीत हुन पनि उनले निर्देशन दिए। यसका लागि कुन जिल्ला, कुन गाउँ कुन ठाउँमा कुन समुदायको बाहुल्यता छ र त्यहाँ कुन उम्मेदवार बन्दा चुनाव जित्न सकिन्छ भन्ने सत्य तथ्यमा आधारित विवरण तयार गरी अघि बढ्नु पर्नेमा उलने जोड दिए। पार्टीभित्र कडा अनुशासन कायम गराउन पर्ने बताउँदै उलने पार्टीका उम्मेदवारलाई हराउने अनतरघातीलाई कारबाही नगर्ने हो पार्टीले कहिल्यै चुनाव नजित्ने ठोकुवा गरे। अनुशासनको कारबाही न्यायपूर्ण ढंगले हुनु पर्नेमा जोेड दिँदै जसले बदमासी गरेको छ उसको दोषको आधारमा कारबाही र सजायको व्यवस्था नभएसम्म राजनीतिक पार्टी राजनीतिक पार्टीको रुपमा नरहेर अराजकहरुको भिड हुने बताए। कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाई बहुमत प्राप्त ओली नेतृत्वको सरकार दुई वर्ष नपुग्दै बेकम्मा सावित भएको दाबी गरे। नयाँ संविधान बमोजिम प्रदेशको नाम र राजधानी समेत अहिलेसम्म तोक्न नसकेको सरकारले राज्यका संवैधानिक निकायहरुलाई नियन्त्रण गर्न र जनतामा आतंक श्रृजना गर्न लागिपरेको आरोप पनि उनले लगाए। कार्यक्रममा उपसभापतिद्धय विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, प्रतिनिधि सभामा प्रमुख सचेतक बालकृष्ण खाण लगायतले बोलेका थिए।
प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update