हिमाल दैनिक
प्रदेश नं–१ प्रदेशसभाकोे आजको बैठकले ‘प्रदेश स्वायत्त संस्था गठन गर्ने सम्बन्धमा बनेको विधेयक, २०७६’ पारित गरेको छ ।आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेको मा बैठकले सर्वसम्मतिले पारित गरेको यियो । उनले उक्त विधेयकले प्रदेशको विकास र संरचना निर्माण गर्न मद्दत गर्ने बताउँदै सघन छलफलपछि आएकाले यो प्रदेशको आर्थिक तथा सामाजिक विकासमा सहयोगी हुने विचार व्यक्त गरे । केही दिनअघि सदनमा प्रस्तुत सो विधेयक सुशासन तथा योजना समितिमा बृहत् छलफलबाट अझ प्रभावकारी बनाउने प्रयास भएको प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले जानकारी दिए । त्यस्तै बैठकको शून्य समयमा सदस्य अम्बिका थापाले सरकारी भवन अपाङ्गमैत्री बन्नुपर्ने माग गर्दै सम्भब भए प्रत्येक विद्यालयमा नभए एक निर्वाचन क्षेत्रमा एक सरकारी विद्यालय अपाङ्गमैत्री बनाउनुपर्नेमा जोड दिईन । सदस्य वसन्तीदेवी यादवले कृषिलाई पहिलो प्राथमिकतामा राखेर पनि किसानले पर्याप्त मल पाउन नसकेकामा प्रदेश सरकारको ध्यानाकर्षण गराईन । सदस्य विर्खबहादुर प्रधानले जनता आवास कार्यक्रमअन्तर्गत सबै जातजाति एवं वर्गलाई समान सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिए । अर्का सदस्य शिवनारायण गनगाईले अस्थायी शिक्षकले आफ्ना मागसहित मुख्यमन्त्री कार्यालय अगाडि गरिरहेको धर्ना र आन्दोलनप्रति प्रदेश सरकारले सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने बताए । सदस्य हिमाल कार्कीले ६५ वर्षअघि कोशी पुल बन्दा सुनसरी, उदयपुर र सप्तरीका जनताका क्षति भएको बाली र जग्गाको मुआब्जा दिलाउन प्रदेश सरकारले पहल गर्नुपर्ने धारणा व्यक्त गरे । सदस्य हीराकुमार थापाले सरकारले विकासका लागि विनियोजन गरेको बजेटबाहेक विचौलियाले बीचमा चलखेल गरी योजना लैजाने स्थिति रोक्न प्रदेश सरकारको ध्यानाकर्षण गराए । प्रदेशसभाको अर्को बैठक भदौ १२ गते अपराह्न २ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकरी दिए ।रासस
प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update