हिमाल दैनिक
इलाममा निर्माणाधीन विमानस्थल सम्पन्न गर्न ढिलाइ भएको भन्ने स्थानीयको गुनासो बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यसको अनुगमन गरेका छन् । गृहजिल्ला ताप्लेजुङ जानेक्रममा उहाँले आज विमानस्थलको अनुगमन गरेका हुन् । उनले अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै विमानस्थल आवश्यकता भएर नै शुरु भएकाले सम्पन्न हुने बताए । पहाडी जिल्लामा विमानस्थल आवश्यकता महसुस भएर नै यहाँ काम थालिएको उनको भनाइ छ । पार्किङ र धावनमार्गको काम भइरहेको भन्दै उनले स्थानीयलाई निराश नबन्न आग्रहसमेत गर्नुभयो । पन्ध्र महीनाको ठेक्का शुरु भइसकेको बताउँदै उनले काम शुरु भएको एक महीना बितिसकेको बताए । अबको १४ महीनामा यसको हेर्न लायकको प्रगति हुने भन्दै उहाँले त्यसपछि थप रकम विनियोजन गरेर भए पनि यसलाई सम्पन्न गर्न आफू लागिपर्ने बताए। पर्यटन प्रवद्र्धनमा समेत मद्दत पु¥याउने भएकाले सरकारले यसलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । नागरिक उड्डयन प्रधिकरणका इञ्जिनियर तथा आयोजना प्रमुख मनोज भट्टराईले आगामी असोजसम्ममा दोस्रो परीक्षण उडान गर्ने लक्ष्य रहेको बताए । इलाम नगरपालिका– ९ को गोलाखर्क भञ्ज्याङ नजिकै निर्माणाधीन सुकिलुम्बा विमानस्थलको २०७५ सालमा पहिलोपटक परीक्षण उडान भइसकेको छ । यसैबीच पर्यटनमन्त्री भट्टराईले मुलुुकको पर्यटन विकासका लागि मन्त्रालयले विभिन्न कार्यक्रम अगाडि सारेर काम गरिरहेको बताएका छन् । उनले पर्यटन वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यअनुरुप त्यसलाई पूरा गर्न मन्त्रालयले गर्नुपर्ने आवश्यक काम भइरहेको जानकारी गराए । इलामको सूर्योदय नगरपालिकामा जनप्रतिनिधिसँगको सङ्क्षिप्त भेटमा मन्त्री भट्टराई चियाको राजधानीका रुपमा परिचित इलाममा छिमेकी भारतबाट चिया खानकै लागि पनि पर्यटक आउने वातावरण बनाउनुपर्ने बताए । “सूर्योदयबाट भारत टाढा छैन । कम्तीमा भारतबाट एक कपमात्र चिया पिउन पर्यटक आउने वातावरण बनाउनुप¥यो”, उनले भने ।रासस
प्रकाशित मिति: आइतबार, भदौ १, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update