हिमाल दैनिक
उपप्रधानमन्त्री उपेन्द्र यादवले मधेशलाई प्राकृतिक विपद्बाट जोगाउन चुरेको दोहन पूर्णरूपले बन्द गर्नुपर्ने खाँचो औंल्याएका छन्। प्रदेश नं– २ को बाढी प्रभावित जिल्लाको निरीक्षणपछि आज जनकपुरधाम विमानस्थलमा आयोजित छलफल कार्यक्रममा उन्ले चुरे विनाश गर्ने अमानवीय क्रियाकलाप तुरून्त बन्दहुनु जरूरी छ भने । चुरेलाई बचाउन स्थायी रूपमा समाधान खोज्नु आवश्यक छ भन्दै उहाँले चुरेमा बस्ती बसाउने र सडक निर्माण गर्ने कार्य रोक्नु अपरिहार्य भइसकेको बताए। सरकारको सम्पूर्णशक्ति बाढीपीडितलाई राहत उपलब्ध गराउन जुटेको बताउँदै उपप्रधानमन्त्रीले अब क्षतिको विवरण आइसकेपछि पुनःनिर्माण कार्यमा जुट्ने विश्वास दिए। उनले अहिले नदीहरूको जल सतह मात्रै घटेको र वर्षायाम बाँकी नै रहेकाले प्रदेश नं २ का मुख्य नदी वाग्मती, लालबकैया, खाँडो, कमलालगायत नदीका बाढी नियन्त्रणको उपाय यथाशीघ्र पहिल्याउनु आवश्यक रहेको बताए। प्राकृतिक विपद्बाट जोगाउन तीनै तहको सरकारबीच समन्वय आवश्यक भएको भन्दै उहाँले यथाशीघ्र उद्धार र राहतका लागि प्राधिकरण गठन गर्ने कानूनी कार्यसम्पादनमा लाग्ने पनि जानकारी दिए। गृहमन्त्री रामबहादुर थापा बादलले बाढीले सबैभन्दा अधिक प्रदेश नं २ प्रभावित भएको, तीन दर्जनजति मानिसको मत्यु र अर्बौको क्षति र पूर्वाधार नष्ट भएको जानकारी दिँदै सङ्कटलाई सामना गरी उद्धारकार्य सम्पन्न गरिए पनि अब पुनःनिर्माणमा जुटेर यसको स्थायी समाधान खोज्नु आवश्यक रहेको बताए। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले क्षति भइको संरचनाको पुनःनिर्माणमा बजेटको अभाव हुन नदिने बताए। चुरेको विनाशले प्राकृतिक विपद्मा वृद्धि भई मधेश नै मरूभूमि बन्ने खतरा देखिएको बताउँदै उहाँले पूर्वाधारको मर्मतसम्भार, तटबन्ध निर्माणतर्फ ध्यान केन्द्रित गर्नु जरूरी छ भने । भारतीय बाँध उत्पन्न समस्याको समाधानबारे पहल भइरहेको बताउँदै उहाँले नेपालभित्र रहेका नदीको तटबन्ध राम्ररी गर्नु पनि जरूरी छ भने। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशभित्र उत्पन्न विपद्को स्थायी समाधानका लागि सङ्घीय सरकारको सहयोगका लागि आग्रह गरे । पूर्वप्रधानमन्त्री माधव नेपाल, प्रदेश नं–२ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रतिनिधिसभा सदस्य अनिलकुमार झाको पनि उपस्थिति रहेको सो कार्यक्रममा प्रदेश नं–२ का मुख्यसचिव दीपक सुवेदी र धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले बाढीले पु¥याएको क्षति, उद्धार, राहत र आवश्यकताबारे जानकारी गराए ।
प्रकाशित मिति: आइतबार, असार २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update