हिमाल दैनिक
उपचुनाव जिताएर पार्टी एकताको शुरुआत गरौँः देउवा
BDP-Pokhara_081619_congressleader-e1565964737624
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई आगामी मंसिरमा हुने उपचुनाव जिताएर पार्टी एकताको शुरुआत गर्न पार्टी पंक्तिलाई आह्वान गरेका छन्। पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले महाधिवेशन प्रतिनिधिको गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई पोखरमा सम्बोधन गर्दै देउवाले पार्टीबाट जसले टिकट पाउँछ त्यसलाई सबै मिलेर जिताउनुपर्नेमा जोड दिए। ‘हाम्रो पार्टी दुई पार्टीजस्तो भयो, उनीहरु (एमाले र माओवादी) दुई पार्टी एक भए यो सत्य कुरा हो, अब पार्टी (काँग्रेस) त्यस्तो हुनेछैन,’ उनले भने, ‘यो चुनावमा सबै एक भएर लाग्नुपर्छ, कुनै पनि हालतमा पार्टीलाई जिताउनुपर्छ, यहीँबाट नै पार्टीभित्र एकताको शुरुआत हुन्छ।’ सरकारले प्रेस स्वतन्त्रता हनन गर्ने गरी मिडिया काउन्सिल विधेयक ल्याउन लागेको आरोप लगाउँदै पूर्वप्रधानमन्त्री देउवाले प्रेस स्वतन्त्रतामाथि प्रहार सरकारले नै गरेको र आफ्ना विरोधीलाई सरकारविरुद्ध लेख्न नपाउने गरी विधेयक ल्याउन खोजिएको आरोप पनि लगाए। स्वतन्त्रता, समानता, न्याय र बन्धुत्व कांग्रेसको सिद्धान्त भएको उल्लेख गर्दै उनले प्रजातन्त्रसहितको समाजवादमा कांग्रेस स्पष्ट रहेको बताए। उक्त अवसरमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनताले नेकपालाई आशा एवम् भरोसाका साथ दुई तिहाई बहुमत दिएकोमा यतिखेर जनता निराश भएको दाबी गरे। नेपाली जनताले भरोसाको केन्द्र खोजेको बताउँदै उनले जनताको त्यो चाहनालाई कांग्रेसले पूरा गर्नुपर्नेमा जोड दिए। पार्टीभित्रको गुटबन्दीले कांग्रेसलाई कमजोर बनाउने बताउँदै उनले शेरबहादुर, रामचन्द्र कोही नभनी पार्टी भनेर लाग्न कार्यकर्तालाई आग्रह समेत गरे। लोकतान्त्रिक पार्टी कांग्रेसले आफूलाई पनि लोकतान्त्रिक बनाएर लैजानुपर्ने धारणा राख्दै उनले पार्टी अरुको कार्यसूचीमा संसद्मा हडताल गर्ने नभई आफ्नै कार्यसूची लिएर अघि बढ्नुपर्नेमा जोड दिए। प्रशिक्षणले पार्टीमा रहेका हिजोका कमजोरी हटाउँदै नवीन सोचका साथ सङ्गठनलाई अघि बढाउन महत्वपूर्ण योगदान दिने उनले विश्वास व्यक्त गरे। केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले कांग्रेसका लागि नयाँ चेतना आवश्यक भएको बताए। विसं २००७ यताका हरेक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टीले आगामी दिनमा पनि संविधान एवम् प्रजातन्त्रको रक्षार्थ आफूलाई सशक्त रुपमा अघि बढाउने उनको भनाइ थियो। पार्टीका पूर्वमहामन्त्री तारानाथ रानाभाटले धार्मिक एवम् सामाजिक सहिष्णुता कमजोर बनेको वर्तमान अवस्थामा पार्टीको भूमिका सशक्त हुनुपर्नेमा जोड दिए। आसन्न उपनिर्वाचनमा पार्टीलाई सशक्त रुपमा परिचालन गर्दै विजय हासिल गर्नेतर्फ उन्मुख बन्नुपर्ने पनि उनको भनाइ थियो । कार्यक्रममा सभापति देउवाले नेत्रविक्रम चन्द समूह परित्याग गरी कांग्रेसमा प्रवेश गरेका कार्यकर्तालाई पार्टी सदस्यता प्रदान गरे। सो अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकको पनि लोकार्पण गरिएको थियो। प्रशिक्षण शनिबारसम्म चल्नेछ। रासस [caption id="attachment_69325" align="alignnone" width="900"] नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा पोखरामा आयोजित महाधिवेशन प्रतिनिधिहरूका लागि गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा नेकपा माओवादी विप्लव समूह परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने कार्यकर्तालाई नेपाली काँग्रेसको सदस्यता प्रदान एवम् स्वागत गर्दै नेका सभापति शेरबहादुर देउवा । तस्वीरः वासुदेव पौडेल[/caption]
प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update