हिमाल दैनिक
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले विप्लव नेतृत्वको प्रतिबन्धित पार्टीे नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्नेमा जोड दिएका छन्। नेपाल प्रेस युनियन चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको बताए। अहिले राजनीतिक रुपमा खुल्ला वातावरण बनेको भन्दै उनले हतियार उठाएर व्यक्तिगत स्वार्थका लागि हिँड्न नहुने धारणा राखे। निधिले कांग्रेसभित्र गुटबन्दी नरहेको दाबी गरे। महासमिति र केन्द्रीय समितिको बैठकले समस्या समाधान गरेको उनको भनाइ थियो। ‘कांग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण आफ्ना धारणाहरु बाहिर आउँदैमा त्यसलाई गुट–उपगुट छ भन्नु हुँदैन,’ उनले भने। सरकारले गरेका कामहरुका कारण जनतामा फेरि कांग्रेसप्रति आशा र भरोसा बढेको उनको भनार्इ थियो । गुट–उपगुटमा नलागी जनताको भरोसामा केन्द्रित हुँदै काम गर्ने समय आएको निधिले बताए। फरक प्रसङ्गमा उनले नेविसंघको तदर्थ समिति असार २२ गतेको केन्द्रीय समितिको बैठकपछि टुङ्गो लाग्ने जानकारी दिए। फागुन १ गतेदेखि उक्त संस्था नेतृत्वविहिन अवस्थामा रहेको छ। रासस
प्रकाशित मिति: सोमबार, असार १६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update