हिमाल दैनिक
सरकार विदेशी शक्ति केन्द्रको गोटी बन्दा राष्ट्रिय अस्मिता खतरामाः देवप्रसाद गुरुङ
Dev Prasad Gurung
सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले वर्तमान सरकारको पालामा नेपाल इतिहासमै स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न रहेको दाबी गरिरहेकैबेला स्वंय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताले देशको सार्वभौमसत्ता र अस्मिता नै जोखिममा रहेको रहस्योद्घाटन गरेका छन्। नेपका संसदीय दलका मुख्य सचेतक देवप्रसाद गुरुङले आइतबारको प्रतिनिधि सभा बैठकमा कानून मन्त्रालय अन्तर्गत विनियोजिन शीर्षकमाथिको छलफलमा भाग लिँदै भने, ‘अहिलेकै स्थिति रहिरह्यो भने नेपाल विदेशी सेनाको क्रिडास्थल बन्दैछ र नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अस्मिता पनि रहन्छ कि रहँदैन भन्न सकिँदैन।’ सत्तामै रहेका जिम्मेवार नेता गुरुङले व्यक्त गरेका यी अभिव्यक्तिका कारण देशको राष्ट्रियता, स्वाधिनता र अस्मिता जोगाउन वर्तमान सरकार र यसको नेतृत्वको क्षमतामाथि नै गम्भिर प्रश्न खडा भएको छ। नेपालको राजनीतिक इतिहासमा एउटा परिवेशमा जनयुद्ध सुरु भएर दश वर्ष चलेपछि त्यसैको आडमा सबै पक्षहरु मिलेर अन्ततः गणतन्त्र स्थापना गर्न सफल भए पनि द्धन्द्धकालका मुद्दाहरु अझै पनि हल नभएको उनले बताए। शान्ति प्रक्रियाका बाँकी कार्यभारहरु अझै पनि हल नभएको र त्यीे मुद्दा बाँकी रहेको अवस्थामा नेपालको राजनीतिक कोर्स कता जान्छ र कुन ढंगले जान्छ भन्ने कुरा चिन्ताको विषय बनिराखेको उनले बताए। ‘सत्य निरुपण तथा मेलमिलाप आयोगले समाधान गर्ने भनिएपनि अहिलेसम्म आयोगले पूर्णता पाउन सकिरहेको छैन। कानून संशोधन हुने भनिएपनि त्यो कानून पनि संशोधन हुन सकेको छैन। अदालतले स्टे अर्डर गरेर अड्काइराखेको अवस्था छ,’ उनले भने। जब कि कुनै पनि नयाँ कानून बनाउने अथवा संशोधनको प्रस्ताव संसदमा दर्ता गराएर अघि बढाउने जिम्मेवारी स्वयं सत्तारुढ दल र त्यसको नेताको नेतृत्वमा रहेको सरकारकै हो। तर, गुरुङले कानून संशोधन हुन नसकेकोमा दोषी को भन्ने स्पष्ट पार्न सकेनन्। देशभित्र यो स्थिति पैदा हुनुको पछाडिको कारण कतिपय बाह्रय शक्तिकेन्द्रहरु नै भएको दाबी गर्दै उनले भने, ‘पश्चिमा शक्ति केन्द्रहरु नै हुन्, नेपालमा जसरी भएपनि द्धन्द्ध मच्चाउने, द्धन्द्धका मुद्दाहरुलाई हल हुन नदिने, र द्धन्द्ध मच्चाउँदै गएर फेरिपनि द्धन्द्ध निम्त्याएर विदेशी सेना नेपालमा प्रवेश गर्ने अहिलेको मुल बाटो भनेको त्यहि हो।’ कसरी विदेशी सेना नेपालमा लिएर आएर छिमेकी राष्ट्रहरुको विरुद्धमा प्रयोग गर्ने? भन्ने नै अहिलेको विश्व राजनीतिको सेन्ट्रल पोइन्ट केन्द्रीत रहेको उनले बताए। ‘यहि कुराले यहाँ प्लेग्राउण्ड बनाउनका लागि शान्ति प्रक्रियालाई अड्काएर राखिराखिएको छ। मुद्दालाई अड्काएर राखिएको छ। साढे तीन सय भन्दा बेसी मुद्दाहरु अदालतमा छ,’ उनले भने। विगतमा मुद्दा लगाइएकाहरुलाई फेरि पनि वारेन्ट काट्दै र मुद्दा लगाएर पक्रने प्रक्रिया तिब्ररुपले बढिराखेको बताउँदै नेपाली सेनाबाट विद्रोह गरेर जनमुक्ति सेनामा लागेकाहरुमाथि अहिले फेरि सेनाको उनीहरुमाथि मुद्दा लगाएर गिरफ्तार गर्दै आजिवन काराबास भन्दै फैसला गर्ने प्रक्रिया बढ्दै गइरहेको उनले आरोप लगाए। जब कि सरकारको नेता र मन्त्रालयको नेतृत्व गुरुङ स्वयं संलग्न दलका नेताहरु रहेका छन्। ‘यी सबै प्रक्रियाले नेपालको राजनीतिक कोर्स कता जान लागेको हो भन्ने कुरा चिन्ताको विषय बनिराखेको छ,’ उनले भने। यहि सन्दर्भमा केही दिनअघि मात्रै पश्चिमा शक्ति केन्द्रहरु ९ वटा मुलुकका राजदूतावासहरुले संयुक्त राष्ट्रसंघ समेतको संलग्नतामा कुटनीतिक मर्यादा उलंघन गरेर वक्तव्य निकालेर शान्ति प्रक्रियालाई अवरोध खडागरिराखेका आरोप लगाए। विदेशीले शान्ति प्रक्रियालाई अबरुद्ध गर्ने र त्यसलाई हल गर्न नदिने प्रक्रियामा लगिराखेको दाबी गर्दै उनले कतिपय दलका नेताहरु पनि यहि मुद्दालाई लिएर समिकरणमा खेल्न सकिन्छ र सरकार अदलाबदली गर्न सकिन्छ कि भनेर हेरिराखेको बताए। कतिपयले यहि मुद्दालाई उठाएर सधैँ पेलेको पेल्यै पेलेको पेल्यै र आफूँ सधैँ सत्तारुढ बस्न पाइन्छ कि भन्ने सोचले काम गरिराखेको उनले बताए। तर, त्यो पेल्ने व्यक्ति को भन्ने उनले खुलाएनन्। तर, उनले भने, ‘कतिपयले यहि मुद्दालाई केन्द्रविन्दु बनाएर समिकरण फेर्ने र टुटाउने, फुटाउने सोचले काम गरिराखेको छ।’ नेताहरुको कतिपय सीमा र कमिकमजोरीबाट बाह्रय शक्तिकेन्द्रहरुले नाजायज फाइदा उठाइरहेको बताउँदै उनले त्यहि फाइदा उठाएर नेपालमा सेना भित्र्याउने र नेपाललाई विदेशी सेनाको क्रिडास्थल बनाउने र छिमेकी राष्ट्रका विरुद्धमा प्रयोग गर्ने यो लाइनमा गइराखेको बताए। ‘यो लाइनमा गयो भने नेपालको राजनीतिक कोर्संमा अदलाबदली हुने मात्रै होइन, नेपालको सार्वभौमसत्ता नै के हुन्छ भन्ने स्थितिमा र नेपालको अस्मिता रहन्छ कि रहँदैन भन्ने अवस्थामा जाँदैछ। नेपाल विदेशी सेनाको अखडा बन्यो भने अफगानीस्थान जस्तो मात्रै हुने वाला छैन। नेपालमा दक्षिण कोरिया मात्रै हुने वाला छैन।’ दुइटा छिमेकी मित्रराष्ट्रको बीचमा विदेशी सेनाको अखडा कायम भयो भने नेपालको भूगोल रहन्छ कि रहँदैन भन्ने आशंका व्यक्त गर्दै उनले नेपाललाई गोटीको रुपमा प्रयोग गर्न खोजिएको दाबी गरे। ‘बुद्धिमत्तापूर्ण ढंगले यो समस्या हल गर्न सक्यौँ भने विदेशी सेना प्रवेशको बाटो बन्द गर्न सक्छौँ र नेपाललाई स्वाधिन बनाउन सक्छौँ। होइन, यो मुद्दालाई यथावत कायम गरिराख्ने हो भने हेर्नु होला विदेशी सेना आउने वाला छ,’ उनले भने। https://www.facebook.com/himaldainik/videos/353435448702558/
प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update