राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्रप्रसाद लिङदेनले जंगल र सडकमा छँदा नेवारलाई नेवाः राज्य दिन्छु भन्नेहरुले नै अहिले उनीहरुको धर्म, परम्परा र संस्कृति समेत खोस्ने दुश्प्रयास गरिरहेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद लिङदेनले सरकारले हालै अघि बढाएको विवादस्पद गुठी सम्बन्धी विधेयकको विरोध गर्दै प्रश्न गरे, ‘जंगलमा, सडकमा भएकोबेला नेवारलाई नेवाः राज्य नै दिन्छु भन्नेहरु सत्तामा भएको बेला त्यहि नेवारको गुठी पनि खोसीदिने?’
गुठी विधेयकको विरोधमा काठमाडौंका हजारौँ जनता दिनहुँ सरकारले ल्याएको विधेयकको विरोधमा सडकमा प्रदर्शन गरिरहेको बताउँदै यो विधेयक कार्यान्वयनमा आयो भने गुठीहरु सरकारले नियुक्ति गरेका पदाधिकारीहरु रहेको प्राधिकरणमा गाभिने र गुठीयारहरुको हक स्वत समाप्त हुने दाबी उनले गरे।
‘गुठीको जग्गा, मन्दिर, धार्मिक सम्पदाहरु ठेक्कामा सञ्चालन गर्न दिने सकिने छ। गुठीमा व्यापारी र भूमाफियाको प्रवेश खुल्ने छ। गुठीहरु स्वतः समाप्त हुँदै जानेछन् भने नयाँ सार्वजनिक वा निजी गुठी स्थापना वा धार्मिक स्थल निर्माण गर्न कठिन प्रायः हुने छ। सबै पर्वहरु लोपभएर जाने खतरा बढ्ने छ,’ उनले भने।
त्यसैले हिन्दु, बौद्ध, किराँत संस्कृति र रैथाने रितिरिवाजमा गुठी नेपाल र नेपालीको मौलिका सम्पदा भएको उनले बताए।
यो मौलिकता किराँतकालबाट प्रारम्भ भई लिच्छिवीकालमा विकसित भएको र यसमाथिकोे हस्तक्षेप केबल गुठीयारमाथिको मात्र हस्तक्षेप नभई सनातन परम्परामाथिको आक्रमण भएको पनि उनले बताए।
स्थिति विग्रनु अगावै यो विधेयक फिर्ता लिएर गुठीलाई संरक्षण र प्रबद्र्धन गर्ने उपत्यका बाहिरका मोहीहरुको समस्या समेत समाधान हुने गरी नयाँ विधेयक पेश गर्न पनि उनले माग गरे।
आफ्नो सनातन परम्पराको पक्षमा उभिएका जनतालाई होच्याउने र चिढ्याउने ढंगले गुठी परम्परा सामन्तवादको प्रतिक हो भन्नु आगोमा घ्यु थप्ने काम हो भन्दै उनले भने, ‘मैले भनेको र बुझेको मात्र सत्य हो सबैले मैले भनेको मान्नु पर्छ भन्ने सोच सर्वसत्तावादी सोच हो। यस्तो कार्य अबिलम्ब रोकिनु सरकारका लागि पनि स्वास्थ्यकर हुनेछ।’
कुनै पनि देश भनेको भूगोल मात्र होइन भन्दै उनले कुनैबेलाको सिक्किम देश अहिले भूगोल भएर पनि देश रहन नसकेको तर्फ लक्षित गर्दै भने, ‘त्यसैले देश हुनका लागि भूगोल बाहेक स्थायीत्वका केही आधारस्तम्भ पनि हुन्छन्। त्यी सबै समाप्त भएपछि देशको अस्थित्व पनि स्वत समाप्त हुने रहेछ। सिक्किममा राजसंस्था ढल्यो सिक्किम पनि ढल्यो।’
उनले नेपालमा पनि स्थायित्व र पहिचानका आधारहरु अनेक बहानामा भत्काउने क्रम बढिरहेको बताउँदै सनातन परम्परा हाम्रो महत्वपूर्ण स्थायित्व र पहिचानको स्तम्भ भएको र गुठीमाथिको आक्रमण यहि सनातन धर्म, परम्परा र पहिचानमाथिको आक्रमण भन्दै यसलाई तत्काल रोक्न माग गरे।
https://www.facebook.com/himaldainik/videos/381599926039390/
प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय