गुठी सम्बन्धी विधेयकको विरोधमा गुठीयारहरु बाध्य भएर मशाल लिएर आन्दोलनमा उत्रिएकोबेला सरकार गीत गाएर बसिरहेको आरोप सत्तापक्षकै सांसदले लगाएका छन्।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता विरोध खतिवडाले प्रतिनिधि सभाको आइतबारको बैठकको सून्य समयमा बोल्दै भने, ‘अहिले सरकार र गुठीयारको बीचमा ३६ को आँकडा छ। त्यसका बाबजूद पनि हाम्रो कुरा बुझेन भनेर दुइटैले एउटै गाना गाइरहेका छन्।’
अरुण थापाको चर्चित गीत गाउँदै उनले भने, ‘बुझ्नेले कुरा नबुझेपछि, मनमा कुरा नलिएपछि मनमा पिर त पर्ने नै भयो, भन्दै सरकार गालामा हात लगाएर यो गाना गाइरहेको छ। गुठीयारहरु पनि यहि गाना गाइरहेका छन्। बुझ्नेले कुरा नबुझेपछि मनमा पिर नलिएपछि मसाल त समात्नै पर्यो, जुलुसमा हिँड्नै पर्यो भनेर।’
खतिवडाले नेपालको हरेक राजनीतिक परिवर्तनमा उपत्यकाले निर्णायक रोल खेलेको स्मरण गर्दै खासगरी आदिवासी नेवार समुदाय जबसम्म उठ्दैनन् राजनीतिक परिवर्तन सम्भव नभएको बताए।
‘त्यसकारण यो स्थिति श्रृजना कसरी भयो? सरकार एकातिर मुन्टो फर्र्काएर बस्ने गुठीयार अर्कोतिर फर्काएर बस्ने यो स्थितिमा मेरो आग्रह छ, माननीय सभामुखजीले सरकार र आन्दोलनकारीलाई बोलाएर एकै ठाउँमा राखी वार्ता गर्ने वातावरण बनाउनका लागि हस्तक्षेपकारी भूमिका खेल्न अनुरोध गर्दछु।’
प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय