प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधानको प्रावधान, व्यवस्था र धर्म, संस्कृति परम्पराको प्रतिकूल रहेको ठहर गर्दै गुठी सम्बन्धी विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।
शनिबार गुठीसँग सम्बन्धीत विज्ञ, गुठीयार प्रतिनिधि र सरोकारवालहरुसँग संसदीय दलको कार्यालय सिंहदरबारमा पार्टीका नेता तथा सांसदहरुले गरेको छलफल र परामर्श पश्चात संसदमा विपक्षी दल कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले यस्तो माग गरेका हुन्।
‘सरकारद्वारा प्रस्तुत गुठी सम्बन्धि कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकले नेपालको परम्परा, धर्म, संस्कृति र सभ्यता माथि प्रहार गरेको छ,’ छलफलपछि जारी विज्ञप्तिमा उनले भनेका छन्।
गुठी सम्बन्धी विधेयक नेपालको संविधानको प्रावधान र व्यवस्थाको समेत प्रतिकूल भएको ठहर गर्दै कांग्रेसले भनेको छ, ‘तसर्थ सरकारले प्रस्तुत गरेको गुठी सम्बन्धि विधेयकलाई तुरुन्त फिर्ता लिन नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ।’
साथै विपक्षी दल कांग्रेसले गुठी विधेयक फिर्ता गराउन गुठीयारहरु र यससँग सरोकार राख्ने सम्बन्धित सबै पक्षबाट भइरहेको आन्दोलनलाई नेपाली कांग्रेस संसदीय दल दृढ समर्थन गर्दै संसदमा अझ शसक्त दवाव श्रृजना गर्ने दृढता पनि व्यक्त गरेको छ।
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय