सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी) नेकपाका सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद प्रतिकको रुपमा भन्ने सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको राजिनामा मागेका छन्।
आज रिपोर्टर्स क्लबमा बोल्दै मानन्धरले गुठीलाई सामन्ती प्रथासँग जोडेकोमा कडा आपत्ती जनाउँदै मन्त्री बाँस्कोटाले राजिनामा दिनुपर्ने बताए।
‘सरकारका प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो भनाई फिर्ता लिनुस्, होइन भने राजिनामा दिनुहोस्। प्रवक्ता जनताको हो। धेरै ठूलो स्वरले बोल्ने होइन,’ उनले भने।
सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घिउ थप्ने काम गरेको मानन्धरको आरोप छ।
‘संचारमन्त्रीजी, कि क्षमा माग्नुस, कि राजिनामा दिनुस्,’ उनले भने।
मुलुक चिनाउने गुठीलाई सामन्तवादको सूचक भनेको भन्दै मानन्धरले राजिनामा नै माग्नुपर्ने अवस्था आएको बताए। ‘आज गुुठियारहरुलाई जसरी आक्षेप लगाउने र अपमान गर्ने गरिएको छ, यसले अब मन्त्रीहरुको दिनगन्ती सुरु भएको छ,’ मानन्धरले भने।
गुठी सम्बन्धी विधेयकको विरुद्धमा काठमाडौंका गुठीयारहरु सडकमा उत्रिए लगत्तै बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री बाँस्कोटाले गुठीलाई सामान्तवादको प्रतिक भएको भन्दै यसमा आमूल परिवर्तन गर्ने बताएका थिए।
मन्त्रीहरुको यस्तै प्रवृत्ति जारी रहे गणतन्त्रसमेत धरापमा पर्ने उनको तर्क थियो।
प्रधानमन्त्री केपी ओली फर्किएपछि पनि विधेयक फिर्ता लिने निर्णय नगरे काठमाण्डौमा आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनीसमेत मानन्धरले दिएका छन्।
‘म यहीँबाट भन्न चाहन्छु, यदी प्रधानमन्त्रीले पनि फिर्ता लिन चाहनुभएन भने हेर्दैगर्नुहोला काठमाण्डौ के हुन्छ। यो मेरो चुनौति होइन, सरकारलाई सुझाब हो,’ उनले भने।
सरकारले ल्याएको गुठी विधेयकले कसैलाई फाइदा नहुने मानन्धरको दावी छ। बाबु बाजेले गुठीमार्फत संरक्षण गरेको सम्पत्तिलाई अहिलेको सरकारले मास्न खोजेको उनको आरोप छ।
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय