हिमाल दैनिक
गुठी विधेयक फिर्ता नलिए सरकार ढालिदिने राजधानीवासीको धम्की
Guthi birod 1
सरकारले अघि बढाएको गुठी विधेयक खारेजीको माग गर्दै ज्यापु महागुठीले शनिबार काठमाडौमा विरोध प्रदर्शन गरेको छ। काठमाडौंको बसन्तपुरबाट ज्यापु महागुठीलगायतका विभिन्न धार्मिक तथा सांस्कृतिक संघ–संस्थाले गुठी विधेयक खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन्। नयाँ संविधान जारी भएलगत्तै सम्पन्न तीन तहको निर्वाचनमा ठूलो आशा र भरोसा लिएर मतदान गरी अधिकांश क्षेत्रबाट जिताएकै सरकारले आफ्हरुको धर्म, संस्कृति र परम्परामाथि धावा बोलेपछि उपत्यकावासी विशेषगरी नेवार समुदाय सरकारको विरुद्धमा सडकमा उत्रिन बाध्य भएको हो। उनीहरुले ‘गुठी विधेयक खारेज गर’ धार्मिक, ‘सांस्कृृति सम्पदा मास्न पाइदैन, ओली सरकार चाहिँदैन’ जस्ता नारा लगाएर सरकारको कदमप्रति आक्रोस व्यक्त गरेका थिए। प्रदर्शनमा सहभागी भएकाहरुले सरकारले धार्मिक, सांस्कृतिक र सामाजिक परम्परामाथि हस्तक्षेप गरेको भन्दै विधेयक खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। वर्तमान सरकारलाई जनविरोधी गतिविधिमा संलग्न भएको आरोप लगाउँदै प्रदर्शनकारीहरुले सरकार गुठी कब्जा गरेर कार्यकर्ताको पालनपोषण गर्न र भूमाफियाको बचाउमा लागेको भन्दै विधेयक फिर्ता नगरे सरकार ढाल्नेसमेत चेतावनी दिए। वसन्तपुरबाट सुरु भएको विरोध प्रदर्शन न्यूरोड, टेकु, ठमेल, दरबारमार्ग, रत्नपार्क, शहिदगेट हुँदै पुनः बसन्तपुर पुगेर समापन भएको थियो। यसैबीच ‘गुठी विधेयक खारेजी अभियान’ले विधेयक खारेजीको माग गर्दै वसन्तपुरमा अनिश्चितकालीन धर्ना सुरु गरेको छ। अभियानका संयोजक तथा नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको अगुवाइमा धर्ना दिइएको हो। जोशीले विधेयक खारेज नभएसम्म धर्ना जारी रहने बताए। गुठी विधेयकले धर्म, परम्परा र संस्कृतिमाथि ठाडो हस्तक्षेप गरेको, ऐतिहासिक सम्पदा सरकारले कब्जा गर्न खोजेको भन्दै धर्नामा सहभागीहरुले सम्पदा बचाउ अभियानमा सहभागी हुन आह्वानसमेत गरेका छन्। सरकारले हालै सार्वजनिक गुठी र निजी गुठीलाई राजगुठीमा परिणत गरी त्यसको नाममा भएका सबै जग्गा, जमिन, चल अचल सम्पत्ति प्राधिकरण मार्फत भोगाधिकार गरिरहेका किसानको सामाजिक न्यायका नाममा वितरण गर्र्ने र मुल गुठीयारको हक अधिकार समाप्त पार्नेृ प्रावधानसहितको विधेयक राष्ट्रिय सभामा दर्ता गरेको थियो। उक्त विधेयकमाथि राष्ट्रिय सभामा छलफल जारी रहेकै समयमा प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर विरोध गर्दै आइरहेको छ भने गुठीयार र सरोकारवालाहरु सडकमा विरोध प्रदर्शन गर्दै आइरहेका छन्।
प्रकाशित मिति: बुधबार, जेठ २९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update