प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले समितिकै सदस्यको स्वामित्वमा रहेको पप्पु कन्सट्रक्सनमाथि कारबाहीको निर्देशन दिएको छ।
काठमाडौंको तीनकुनेस्थित बागमती नदीमा निर्माणाधीन पुल निर्माणमा चरम लापरबाही भएको ठहर गर्दै समितिको शुक्रबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य हरिनारायण रौनियारको निर्माण कम्पनीलाई कारबाहीको निर्देशन दिएको हो।
समितिले स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै उक्त पुल निर्माणमा पप्पु कन्सट्रक्सनले गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेको हो।
सांसद पदमा निर्वाचित भएपछि समाजवादी पार्टी नेपालका सांसद रौनियारको उक्त निर्माण कम्पनी हाल उनका छोराले सम्हाल्दै आएका छन्। आजको समितिको सदस्य समेत रहेको रौनियार पछिल्लो समय आफ्नो निर्माण कम्पनीको विषयमा बडि विवाद बढ्दै र्गपछि समितिको बैठकमा अनुपस्थित रहँदै आएका छन्।
समिति सभापति कल्याणी खड्काको नेतृत्वमा विज्ञसहितको टोलीले निर्माणाधिन पुलको स्थलगत अनुगमन गरेको थियो।
समितिले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा ८६ मिटर लामो बागमती पुलका पाइल तोकिएको भन्दा कम लम्बाइका रहेका र केही पाइल भाँचिन लागेको उल्लेख गरिएको छ।
निर्माण पूरा हुने समयको एक वर्ष पूरा भइसक्दा पनि निर्माण नभएको, उक्त पुलको डिजाइन २०७३ मा पास भए बमोजिम नरहेको पनि समितिको प्रतिवेदनमा उल्लेख छ।
पुलका पाइल २९.५ मिटर गहिराइसम्म हुनुपर्नेमा १६.५ मिटरसम्म मात्रै राखिएको प्रतिवेदनमा लेखिएको छ।
समितिले पप्पु कन्सट्रक्सनलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको समिति सभापति खड्काले दिइन्।
त्यसैगरी योजना पूर्वतयारीको काम सम्पन्न गरेपछि मात्रै ठेक्का लगाउनुपर्ने, काम अगाडि नबढाउने निर्देशन दिँदादिँदै पनि काम अगाडि बढाउनेलाई कारबाही गर्नुपर्ने, निरन्तर अनुगमन र निरीक्षण गर्नुपर्ने लगायतका निर्देशन पनि दिइएको उनले बताइन्।
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले पुल निर्माणका लागि पप्पुसँग २०७१ पुस ४ गते सम्झौता गरेको थियो।
पुल निर्माणको लागत अनुमान ३० करोड ८५ लाख भए पनि निर्माण कम्पनीसँग २१ करोड ३३ हजार (करबाहेक)मा सम्झौता भएको थियो।
प्रकाशित मिति: मंगलबार, जेठ २८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय