प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार धर्म र संस्कृतिका विषयमा अनावश्यक विवाद सिर्जना गरी द्वन्द्व बढाउने काममा लागेको आरोप लगाएको छ ।
बिहीबार पहिलो चरणको राष्ट्रिय जागरण अभियान सम्पन्न गरेपछि पार्टी मुख्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसले गुठी विधेकको माध्यमबाट धर्म र संस्कृतिको विषयमा अनावश्यक रुपमा प्रवेश नगर्न सरकारलाई आह्वान गरेको छ ।
वर्तमान सरकारका प्रधानमन्त्री नै विवादित र धर्मप्रचारक विश्वविद्यालयबाट विद्यावारिधीको उपाधि लिने होडमा भन्दै कांग्रेसले सरकार आफैं द्वन्द्व निर्माण गर्ने बाटोमा लागेको आरोप लगाएको छ ।
त्यस्तै कांग्रेसले जागरण अभियानको पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ । कांग्रेसले दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीको आन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दल लगायतका भ्रातृ संगठन गठन गरिने जानकारी दिएको छ ।
जिल्ला, क्षेत्र, गाउँनगर र वडास्तरमा गरेर दुई हजार कार्यक्रम भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । जागरण कार्यक्रमबाट ३१ हजार ६ सय ४२ जना कांग्रेस पार्टीमा प्रवेश गरेको प्रवक्ता शर्माको भनाई छ ।पार्टी प्रवेश गरेकाहरुलाई प्रशिक्षण दिएर उचित जिम्मेवारी दिने शर्माले बताएका छन् ।
त्यस्तै उनले दोश्रो चरणको जागरण अभियानको तयारी भइरहेको पनि बताए।
https://www.facebook.com/himaldainik/videos/589369471554539/?t=1
प्रकाशित मिति: सोमबार, जेठ २७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय