हिमाल दैनिक
लोकसेवा आयोगको विज्ञापन रद्द गर्ने निर्देशनविरुद्ध साझा विवेकशीलको समर्थन
rabindramishra
राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा विभिन्न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्न दिएको निर्देशनविरुद्ध बुधबार पनि काठमाडौंमा प्रदर्शन गरिएको छ । लोकसेवाको परीक्षाका लागि तयारी गरिरहेका परीक्षार्थीले बुधबार माइतिघरमा प्रदर्शन गरेका हुन् । विज्ञापन रद्द गर्ने निर्णयले सरकारी सेवामा प्रवेश गर्न पाउने अधिकार कुण्ठित गराउने भएकाले प्रदर्शन गरेको उनीहरुको भनाई छ । प्रदर्शनलाई साझा विवेकशील पार्टीले पनि समर्थन गरेको छ । प्रदर्शनमा पुगेका साझा विवेकशील पार्टीका संयोजक रविन्द्र मिश्रले लोक सेवा आयोग स्वतन्त्र संवैधानिक अंग भएकाले संसदीय समितिले दिएको निर्देशन पालना हुन नहुने बताए। उनले तत्काल बिज्ञापन खारेजी गर्ने निर्णय फिर्ता दिन समितिलाई आग्रह गरे। सरकारले लोकसेवा आयोगमार्फत स्थानीय तहमा रिक्त दरबन्दी पूर्तिका लागि यही जेठ १५ गते ५१५ स्थानीय तहमा नौ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो । आयोगले विज्ञापन गरेपछि लाखौँ विद्यार्थी परीक्षाको तयारीमा थिए । समितिले बिज्ञापन खारेज गरेपनि आयोगले भने आवेदन खुल्ला नै राखेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update