हिमाल दैनिक
गृहमन्त्री थापा भन्छन्ः गुठीयारकाे प्रदर्शनमा प्रहरीमाथि ढुंगा/इट्टा हानेर मुखै क्षतविक्षत पारियाे!
Home Minister Thapa
गृहमन्त्री रामबहादुर थापाले आइतबार माइतीघर मण्डलामा गुठी विधेयकको विरोधमा उत्रिएका प्रदर्शनकारीले कानुन हातमा लिएर प्रहरी र सर्वसाधारण यात्रुमाथि ढुंगामुढा गरी सार्वजनिक आवागमन अवरोध गरेको आरोप लगाएका छन्। गुठी विधेयकको विरोधमा उत्रिएका उपत्यका गुठीयारहरुको प्रदर्शनमा भएको प्रहरी दमनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँगै सत्तापक्षकै सांसदले आपत्ति जनाउँदै सरकारको धारणा माग गरेपछि मंगलबार प्रतिनिधि सभामा बोल्दै गृहमन्त्री थापाले यस्तो आरोप लगाएका हुन्। प्रमुख प्रतिपक्षीका अतिरिक्त सत्तारुढ समाजवादी पार्टी नेपालका नेता राजेन्द्रकुमार श्रेष्ठले समेत अन्तर्राष्ट्रिय मान्यता विपरित ७० वर्ष भन्दामाथिका जेष्ठ नागरिकदेखि अन्य नागरिकको टाउकोमा प्रहार गरिएको र पक्राउ गरी दमन गरिएको भन्ने प्रश्नको जवाफमा मन्त्री थापाले सामान्य बल प्रयोग भएको दाबी गरे। उनले प्रतिप्रश्न गर्दै सामान्य बल प्रयोग भएको र बरु प्रदर्शनकारीले नै प्रहरीमाथि मुक्का हान्ने, ढुंगा, इट्टा हान्ने र सुरक्षाकर्मीको मुख क्षतविच्छेद गरिदिएको आरोप लगाउँदै यो गतिविधि लोकतन्त्रभित्र नपर्ने जिकिर गरे। मन्त्री थापाले नेपाल सरकारद्धारा प्रस्तावित गुठी सम्बन्धी विधेयकको केहि प्रावधानमा असहमति राख्दै सम्बन्धमा उपत्यका सडक विस्तार पीडित संघर्ष समिति, सम्पदा अभियान, नेवाः संगठन र डगु होल गुठीको नेतृत्वमा अन्दाजी २/३ सय जना व्यक्तिहरु भेला भएर प्रदर्शन गरेको जानकारी दिए। उनीहरुले सार्वजनिक आवागमनमा अवरोध खडा गरेको र प्रहरीले अवरोध नगराउँन माइकिङ गर्दा पनि स्वीकार नगरेर अवरोध जारी राखेपछि उनीहरुलाई पानीको फोहोरा र सामान्य बल प्रयोग गरी तितरबितर गराइएको बताए। उनले राज्य र सरकारले शान्तिपूर्ण विरोधको अधिकार कुण्ठित गर्ने र अधिनायकवाद तर्फ नभई जनताको विरोध वा समर्थनको अधिकार रक्षा गर्न सरकार प्रतिबद्ध रहेको दाबी गरे। उनले उक्त घटनामा राज्य वा प्रदशनकारीको तर्फबाट कानून मिचिएको भए त्यसबारे महानगरिय प्रहरीले छानविन गरी दोषी देखिएमा कानून बमोजिम कारबाही हुने जानकारी दिए। गृहमन्त्री थापाले जवाफ दिएपछि नियमावली वमोजिम थप प्रश्न गर्न पाउने प्रावधान वमोजिम सांसदहरुलाई सभामुखले समय नदिएपछि विपक्षी दलका प्रमुख सचेतक बालकृष्ण खाँणले आपत्ति जनाएका थिए। त्यसपछि थप स्पष्टिकरण माग्न सभामुखले समय दिएपछि खाँणले गुठीयारहरु आफ्नो धर्म, संस्कृतिको रक्षाका लागि आइतबार शान्तिपूर्ण प्रदर्शनका लागि बाजागाजासहित माइतीघरमा भेला हुँदा प्रहरीले दमन गरेको आरोप लगाए। उनीहरुले कुनै ट्राफिक अवरोध गर्ने कार्यक्रम नभएको र नगरेको दाबी गर्दै खाँणले माइतीघर मण्डलामा पनि सुरक्षाकर्मीले आक्रमण गरी गिरफ्तार गरेपछि पनि लात्तैलात्ताले हानेकोमा सरकार र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनु पर्छ कि पर्दैन भनि प्रश्न गरे। कांग्रेस सचेतक पुष्पा भुषालले सडक विस्तारदेखि अरु आन्दोलन पनि सँगै थियो भनि गुठीयार र नेवाः आन्दोलनलाई अरु आन्दोलनसँग जोडेर गुठीयारको आन्दोलन कमजोर बनाउने गरी दिएको जवाफप्रति सन्तुष्टि व्यक्त गरिन्। उनले गुठी जोगाउन भएको आन्दोलनप्रति भएको घटनामा राज्यले खेद प्रकट गर्नुृ पर्ने माग गरिन। कांग्रेस सांसद डिला संग्रौला गुठी सम्बन्ध िविधेयक फिर्ता लिन र धर्म संस्कृति बचाउँन शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले लाठी र लात्ती हानेर सिंगो नेपाली जनताको स्वाभिमानमाथि लात्ती हानेको आरोप लगाइन्। देवेन्द्रराज कँडेलले कुनै पनि विरोध कार्यक्रमको पूर्वसूचना स्थानीय प्रशासन कार्यालयलाई दिने प्रचलन रहेको बताउँदै त्यस्तो अवस्थामा वैकल्पिक बाटो नअपनाएर उनीहरुमाथि किन दमन गरियो र वैकल्पिक बाटो किन लिइएन भनि प्रश्न गरेका थिए।
प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update