हिमाल दैनिक
सत्तापक्षकै सांसद श्रेष्ठले भनेः माइतीघरमा राज्य आतंक भयो, अरिंगालको गोलामा ढुंगा हानियो
Rajendra Shrestha
सरकारले अघि सारेको गुठी सम्बन्धी विधेयक संविधान विपरित ल्याइएको भन्दै सत्तापक्षकै सांसदले यसको विरोध गरेका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा आइतबार माइतीघरमा गुठीयारहरुको प्रदर्शनमाथि भएको प्रहरी दमनको विषयमा गृहमन्त्रीको जवाफपछि प्रतिप्रश्न गर्ने क्रममा सत्तारुढ समाजवादी पार्टी नेपालको नेता राजेन्द्रप्रसाद श्रेष्ठले विधेयकको वैधानिकतामाथि नै गम्भिर प्रश्न चिन्ह खडा गरे। एक मिनेटका लागि प्रश्न सोध्न समय पाएपनि नियमावली विपतिर सभामुखसँग लामो समय लिएर बोल्दै सांसद श्रेष्ठ भने, ‘माइतीघर मण्डलामा जुन जनप्रदर्शन भयो त्यसका कारणहरु छन्। त्यसको पहिलो कारण जुन संविधानलाई हामीले यथास्थितिवादी र प्रतिगमन उन्मुख पनि भन्यौ र आन्दोलन पनि गर्यौं त्यहि संविधानमा भएका धाराहरु समेत उलंघन गरेर अहिले गुठी विधेयक आयो।’ उनले आइतबार गुठीयारहरुको शान्तिपूर्ण प्रदर्शनको कार्यक्रम सकिनै लाग्दा राज्यको तर्फबाट आतंक मच्चाइएको आरोप लगाउँदै भने, ‘यो अरिंगालामाथि ढुंगा हान्ने प्रयास भयो।’ पशुपति विकास कोष, लुम्बिनी विकास कोष जस्ता धार्मिक तथा सांस्कृतिक कुराहरु सम्बन्धी विधेयक ल्याउँदा संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयबाट आएजस्तै गरी गुठी विधेयक पनि सोही मन्त्रालयबाट आउनु पर्नेमा भूमि व्यवस्था मन्त्रालयबाट ल्याएर गलत अभ्यासको थालनी भएको आरोप उनले लागाए। ‘गुठी पनि एउटा सांस्कृतिक परम्परा हो। तर, यसलाई भूमि व्यवस्थासँग जोडिएर आयो। कमैया, भूमिहिनका समस्या होलान वा सुकुम्वासीका होलान। उनीहरुका लागि जग्गा उपलब्ध गराउनुहोस् त्यो आफ्नो ठाउँमा होला। तर, गुठी भनेको परम्परा, संस्कृति र सभ्यतासँग जोडिएको विषय हो यसलाई गलत ढंगले अर्को मन्त्रालयबाट ल्याइयो,’ उनले भने। पूर्वनिर्धारित एक मिनेटभन्दा बढि सयम लिएर बोल्दा बोल्दै लाइन काटिएपछि सभामुखसँग जबरजस्ती समय थप गराएर सांसद श्रेष्ठले भने, माइतीघरमा एकघण्टाको धर्ना कार्यक्रम सकिन पाँच मिनेट समय मात्रै बाँकी थियो, धर्ना सकेर अब समापन कार्यक्रम गर्ने भनि निस्किएको हो। त्यस्तो बेलामा निर्मम ढंगले टाउकोमा प्रहार भयो। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पनि खुट्टामा मात्रै लाठी हान्न पाउँछ टाउकोमा घाउ लाग्नेगरी हान्न पाइदैन।’ उनले ७० वर्ष नाघेका जेष्ठ नागरिक डा. महेशमान श्रेष्ठ, कृष्णगोपाल भायो, विकास महर्जन, अनिश बैद्यलगायतलाई गिरफ्तार गरिएको कथुनगीका सचिव सञ्जिव बज्राचार्य, कृष्ण मानन्धर र महेश कारञ्जित लगायतलाई घाइते बनाइएको आरोप लगाए।
प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update