हिमाल दैनिक
सरकारलाई सांसद केसीकाे चेतावनीः गुठी सम्बन्धी विधेयक फिर्ता नलिए काठमाडाैंमा भयावह स्थिती हुन्छ
Rajendra KC
नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारले धर्म, संस्कृति र परम्परामाथि धावा बोल्नेगरी संविधान विपरित सदनमा पेश गरेको गुठी सम्बन्धी विधेयक तत्काल फिर्ता नलिए उपत्यकामा भयावह स्थिति उत्पन्न हुने चेतावनी दिएका छन्। मंगलबारको प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै सांसद केसीले यस्तो चेतावनी दिएका हुन्। सरकारले अघि बढाएको गुठी सम्बन्धी विधेयकले काठमाडौंवासी विशेषगरी नेवार समुदायको धर्म, संस्कृृति र पहिचानलाई समाप्त पार्न उद्दत भएको आरोप लगाउँदै उक्त विधेयक तत्काल फिर्ता लिन उनले माग गरे। ‘यदि यो विधेयक तत्काल फिर्ता लिइएन भने काठमाडौमा भयावह स्थिति उत्पन्न हुनेछ। काठमाडौंका एकजना पनि घरमा नबसी काठमाडौंलाई घेराबन्दी हुने छ। गुठीयारहरु हाम्रो परम्परा, संस्कृतिमाथि आक्रमण गर्यो भनि आक्रोसित छन्,’ उनले भने। २०६५ सालको बजेटमा तत्कालिन अर्थमन्त्री बाबुराम भट्टराइले कुमारी जात्राको लागि दिने गरिएको रकम बजेटबाट कटाउँदा स्थिति तनाबपूर्ण बनेपछि पुनः निर्णय सच्याएको तर्फ पनि सरकारको ध्यानाकर्षण उनले गराए। उक्त विधेयकको विरोधमा आइतबार माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध प्रदर्शनमा भेला भएका गुठीयारहरुको जुलुसमाथि राज्यले बर्बर दमन गरेकोमा आपत्ति प्रकट गर्दै उनले राज्यले संविधान प्रद्धत्त नागरिकको मौलिक हकमाथि नै अतिक्रमण गरेको आरोप पनि लगाए। उनले बाल्यकालमा कम्युनिष्टहरु धर्म मान्दैनन्, संस्कृति र सम्पदामा विश्वास गर्दैनन्, चाडपर्व, परम्परा र संस्कार मान्दैनन्, यहि नै कम्युनिष्टको दर्शन हो भन्ने सुनेको कुरा गुठी सम्बन्धी विधेयकले पुष्टि गरेको दाबी गरे। ‘नेपाल जस्तो धार्मिक मुलुक, जुन मन्दिरै मन्दिरले भरिएको मुलुकको रुपमा परिचित छ, संस्कृति र पहिचान बोकेको मुलुकमा गुठी जस्तो अत्यन्त संवेदनशील क्षेत्रमाथि गुठी विधेयकको माध्यमबाट प्रहार भएको छ,’ उनले भने। यसले कम्युनिष्टहरु संविधान पनि मान्दैनन् र कानुन पनि मान्दैनन् भन्ने सुनेको कुरा पनि सत्य सावित भएको र यहि नै सर्वसत्तावाद र अधिनायकवादको उदाहरण भएको दाबी गरे। भूमि सुधार मन्त्री पद्मा अर्यालले सोमबारको बैठकमा जवाफ दिने क्रममा संविधानको गलत व्याख्या गरेको आरोप लगाउँदै मन्त्रीलार्ई संविधानको धारा २६ को धार्मिक स्वतन्त्रताको हक पढ्न सुझाव दिए। (२६. धार्मिक स्वतन्त्रताको हक ः (१) धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नोे आस्था अनुसार धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता हुनेछ । (२) प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल तथा धार्मिक गुठी सञ्चालन र संरक्षण गर्ने हक हुनेछ । तर धार्मिक स्थल तथा धार्मिक गुठीको सञ्चालन र संरक्षण गर्न तथा गुठी सम्पत्ति तथा जग्गाको व्यवस्थापनका लागि कानून बनाई नियमित गर्न बाधा पुगेको मानिने छैन ।) त्यसैगरी धारा २९० मा पनि गुठीको मूूलभूत मान्यतामा असर नपर्नेगरी लेखिएको प्रावधानको गलत व्याख्या गरी सरकारले गुठीको जग्गा जमिन र सम्पत्तिमाथि धावा बोल्ने गरी ल्याएको विधेयकले उपत्यकावासी आतंकित र त्रसिद भएको उनले बताए। काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० का सांसद समेत रहेका नेता केसीले आफ्ना पूर्खा जसको धर्म, संस्कृति र परम्परामा अटल विश्वासले दिएको गुठीलाई राज्यले समाप्त पार्न उद्दत भएको आरोप लगाए। काठमाडौंलाई सिटी अफ टेम्पल र सिटी अफ फेस्टिभल भनिने बताउँदै यो मन्दिरै मन्दिरको शहर, परम्परा र जात्राको शहर भएको र यहि नै यहाँकोे पहिचान भएको बताए। ‘यो पहिचान हाम्रो राष्ट्रियता पनि हो। त्यो समाप्त हुने खेल भइरहेको छ। यो उपत्यकावासीलाई कुनै हालतले सैह्य हुने छैन,’ केसीले भने। आफ्ना पिता पूर्खाले बनाइदिएको गुठीलाई संरक्षणका लागि आइतबार मण्डलामा भेला भएका गुठीयारहरुको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारले निर्मम लाठीचार्ज गरी दमन गरेकोमा घोर भत्र्सना गरे। ‘यदि धर्म र यहाँको परम्परा विशेषगरी यहाँका नेवार समुदायको संस्कृति र संस्कारलाई चलाइयो भने दशौं लाख मानिस काठमाडौंको सडक आउने छन्,’ उनले थप्दै भने, ‘नांग्लो ठटाएर हात्ती तर्साउने काम सरकारले राजधानीवासीलाई नगरोस्।’ राजधानीवासीले लोकतन्त्र पुनस्थापनाका लागि ठूलो बलिदान र योगदान पुर्याएका बताउँदै उनीहरुको पुख्र्यौली सम्पत्ति संरक्षणको माग गर्नु कुन अपराध भएको छ भनि प्रश्न गरे। गुठीयारमाथि भएको दमनको विषयमा काठमाडौंवासी र नेवार समुदाय आक्रोसित रहेको बताउँदै यस घटनाबारे तत्काल छानविन समिति बनाएर सत्य बाहिर ल्याउन माग गर्दै लाखौँ मानिस कोही घरमा नबसी सडकमा निस्किए भने सरकारले थेग्न नसक्ने चेतावनी दिए। नेपालको पहिचान भनेको यसको धार्मिक परम्परा, संस्कृति चाड, पर्व धर्म हाम्रो पहिचान हो। यसलाई समाप्त पार्ने यो विधेयक संविधानले दिएको अधिकार मास्ने हो भने मुलुक कहाँ जान्छ? भन्ने प्रश्न गर्दै उनले यस्ता गतिविधि गरेर मुलुक असफल बनाउने काम नर्गन आग्रह गरे। उनले सरकारले संविधान नमान्ने हो भने यो सरकारलाई कसरी विश्वास गर्ने भनि प्रश्न समेत गरे। ‘धर्म निरपेक्ष राष्ट्रको प्रधानमन्त्री आफैँ होली वाइन आच्मन गर्नुहुन्छ र पञ्चामृतलाई बहिस्कार गर्नुहुन्छ। धर्म निरपेक्षता भनेको कुनै धर्मको प्रचार गर्नु होइन। राज्य धर्मप्रति तटस्थ रहन्छ। एकातिर क्रिस्चियन धर्मको प्रर्वद्धनका लागि सोल्टीमा तीन रात जाग्राम बसी होली वाइन आफूले मात्र नभइ ७५३ स्थानीय तहको मेयर, उपमेयरलाई खुवाउनु हुन्छ अर्कोतर्फ हिन्दु धर्म अन्तरगत सञ्चालित गुठी समाप्त पार्न लागि पर्नु भएको छ,’ उनले भने। गुठीको व्यवस्था हिन्दुको मात्र नभइ मुस्लिमको मदरसा, क्रिस्चियन ट्रष्ट रहेको बताउँदै त्यो सबै समाप्त पार्नेगरी सरकारले ल्याएको विधेयक तत्काल फिर्ता लिन माग गरे।
प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update