दश वर्षसम्म बम, गोला, बारुद र बन्दुक पड्काएर हिंसात्मक द्धन्द्धको माध्यमबाट शान्ति प्रक्रिया हुँदै सत्तामा पुगेका पूर्वमाओवादी नेता तथा वर्तमान सरकारका गृहमन्त्री रामबहादुर थापाले सडकमा सुतेर सडक आवागमनमा बाधा पुर्याउने कार्य कानून विपरित र दण्डनिय भएको दाबी गरेका छन्।
आइतबार माइतीघर मण्डलामा विभिन्न सरोकारवाला समूहले कानून विपरित राज्यको कानून र प्रहरीमाथि आक्रमण गरी सार्वजनिक आवागमनमा बाधा पुर्याएको कारण शान्ति सुरक्षा कायम गर्न प्रहरीले बल प्रयोग गरेको जवाफ दिए।
सरकारले संसदमा पेश गरेको गुठी सम्बन्धी विधेयकको विरोधमा विभिन्न गुठीयारमा संलग्न व्यक्तिहरुले आइतबार माइतीघर मण्डलामा गरेको प्रदर्शनमाथि राज्यले दमन गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सदन अवरोध गरेपछि सोमबार राष्ट्रिय सभाको बैठकमा स्पष्टिकरण दिँदै गृहमन्त्री थापाले यस्तो आरोप लगाएका हुन्।
‘सडकमा सुतेर अवरोध गर्न पाइदैन विधि अनुसार नागरिक पनि चल्नु पर्छ। राज्य र प्रहरीमाथि ढंगा हान्ने र प्रहरीको मुख फोरिदिने कार्यले कानूनको अतिक्रमण गरेको कारण प्रहरीले बल प्रयोग गरेको हो,’ उनले भने।
मन्त्री थापाले नेपाल सरकारद्धारा प्रस्तावित गुठी सम्बन्धी विधेयकको केहि प्रावधानमा असहमति राख्दै सम्बन्धमा उपत्यका सडक विस्तार पीडित संघर्ष समिति, सम्पदा अभियान, नेवाः संगठन र डगु होल गुठीको नेतृत्वमा अन्दाजी ३ सय जना व्यक्तिहरु भेला भएर प्रदर्शन गरेको जानकारी दिए।
उक्त भेलाले आफ्नो शान्तिपूर्ण विरोधको कार्यक्रम गर्न पाउने हक उपयोग नगरी सडकै सुती सार्वजनिक बाटो अवरोध गर्न थालेकोले र सडक अवरोध नगर्न प्रहरीले सम्झाई बुझाइ गर्नुको साथै पटक पटक माइकिङ गर्दा पनि नटेरी उल्टै प्रहरीमाथि ढुंगा र इट्टा प्रहार गरी टाउको र मुख फोरिदिएको र सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्याएको आरोप उनले लगाए।
‘प्रहरीको अनुरोधलाई वेवास्ता गर्दै उत्तेजित भिडले कानून विपरित सडक अबरोध गर्ने र प्रहरीमाथि ढुंगा र इट्टा प्रहार गरी केही सुरक्षाकर्मीहरु घाइते भए। उत्तेजित भिडको ढुंगा र इट्टा प्रहारबाट सवारी साधन, सर्वसाधारण जनताको घर र जीउज्यानमा नै क्षति हुने अवस्था श्रृजना भएकोले उक्त क्षति हुन नदिन र शान्ति सुव्यवस्था कायम गर्न प्रहरीले कानून बमोजिम बल प्रयोगको सिद्धान्त र चरणको पूर्ण पालना गरी भिडलाई तितरबितर पारी नियन्त्रणमा लिने प्रयास भएको, सो क्रममा पानीको फोहोरा प्रयोगबाट समेत भिड नियन्त्रणमा नआएपछि बल प्रयोग गरी चार जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरी छाडेको छ।’ उनले भने।
त्यस क्रममा केही प्रदर्शनकारी पनि घाइते भएको बताउँदै नागरिकको जीउ धन र स्वतन्त्रताको सुरक्षा गरी कुनै पनि जनधनको क्षति हुन नदिन गृहमन्त्रालय प्रतिबद्ध रहेको र लोकतान्त्रिक अधिकारको उपयोग गर्दा प्रचलित कानून र सार्वजनिक हितप्रति गम्भिर रहन अपिल गरे।
प्रदर्शनकारी र प्रहरी जोबाट कानून विपरित बल प्रयोग भए त्यो दण्डनिय हुने भन्दै त्यसबारे छानविन गरी दोषीमाथि कारबाही हुने आश्वासन पनि दिए।
त्यसपछि गृहमन्त्रीसँग थप स्पष्टिकरण माग गर्दै कांग्रेसका सांसद बद्री पाण्डेले गृहमन्त्रीको पहिले पहिलेकै जस्तो गरी रेडिमेड जवाफ दिएको भन्दै छानविन समिति गठन गरिएको विषयमा कहिले गठन भयो र त्यसको प्रतिवेदन कहिले बाहिर आउँछ भनि प्रश्न गरे।
अकां सांसद प्रकाश पन्थले हिँजो प्रदर्शनमा सरकार गम्भिर नभएको आरोप लगाउँदै यहि हो भने हिँजोको निरंकुश राजतन्त्र र लोकतन्त्रमा फरक के भयो? नागरिकको टाउकोमा बुट बजार्ने प्रहरीले नागरिकको कसरी विश्वास प्राप्त गरी सहकार्य गर्न सक्छन् भनि प्रश्न गरे।
रमेशप्रसाद यादवले हिँजोको कदमले संघीय गणतन्त्रमा नागरिकको शान्तिपूर्ण विरोध प्रदर्शनको अधिकारमाथि दमन गरी लोकतन्त्रको उपहास गरेको आरोप लगाए।
थप स्पष्टिकरण दिँदै गृहमन्त्री थापाले उक्त घटनाको विषयमा महानगरिय प्रहरीबाट अहिले छानविन भइरहेको जानकारी दिँदै त्यसमा दोषी जो देखिएपनि कानून बमोजिम कारबाही हुने दाब िगरे।
गृहमन्त्री थापाको उक्त भनाई सुन्दा लाग्दथ्यो, जुन निकायले हिँजोको घटनामा बल प्रयोगको आदेश दिएको थियो त्यहि निकायका व्यक्तिले उक्त घटनाको छानविन गरी ल्याउने प्रतिवेदन कस्तो होला त्यो भविश्यले बताउँला।
प्रहरीले सामान्य बल प्रयोग कानून बमोजिम नै गरेको दाबी गर्दै कानूनले सार्वजनिक आवागमन र शान्ति र अमन चैन खलल पुर्याउन नपाएने र शान्ति सुव्यवस्था कायम गर्नु राज्यको दायित्व भएको थापाले दाबी गरे।
प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय