हिमाल दैनिक
रोजगारको नाममा प्रधानमन्त्रीको व्यानर टाँस्ने काम पाएकोमा खुशी लाग्योः प्रसाई
Sarita Prasain
राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सचेतक सरिता प्रसाईले प्रधानमन्त्री रोजगार कार्यक्रमको नाममा अरु केही नभएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो राखिएको व्यानर टाँस्ने रोजगारी पाएको बताएकी छिन्। आगामी आर्थिक वर्षका लागि सरकारले संघीय संसदमा प्रस्तुत गरेको बजेटमाथि राष्ट्रिय सभामा सुरु भएको छलफलमा भाग लिँदै नेतृ प्रसाइले गत वर्ष ३ अर्ब १० करोड जस्तै यसवर्ष पनि प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब बजेट विनियोजन गरेको भन्दै सरकारको बजेट र कार्यक्रममाथि तिखो व्यंग्य गरिन्। ‘म अस्तिमात्रै यहाँबाट भक्तपुर जान कोटेश्वर जाँदै गर्दा बाटोमा प्रधानमन्त्री रोजगार कार्यक्रमको व्यानरै व्यानर थियो। खुशी लाग्यो, त्यहि व्यानर टाँस्नेले भएपनि रोजगार पाएछन्,’ सांसद प्रसाईले भनिन्। सबैको लगानीमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको बताउँदै उनले तर, यो बजेटले देशमा संघीयतालाई दह्रो बनाउनुको साटो कमजोर बनाएको आरोप लगाइन्। संविधानको भावना सिंहदरबारको अधिकार गाउँ गाउँमा पुर्याउँने रहेको बताउँदै त्यसैका लागि प्रदेश र स्थानीय तहको चुनाव गरी प्रदेश र स्थानीय सरकार बनाएको भएपनि सरकारले प्रदेश र स्थानीय तहको खर्च गर्न सक्ने क्षमताको अभिवृद्धि गर्न कुनै कदम नचालेको आरोप लगाइन्। उनले भनिन्, ‘उनीहरुले खर्च सहि ढंगले खर्च नगरेको र विकास हुन नसकेको बताइन्।’ राजस्वको ठूलो हिस्सा तलब र भत्तामा नै जाने बताउँदै पाइलै पिच्छे उठाएको कर र राजस्वको हिस्सा विकासको निम्ति प्रयोग हुन नपाउनु दुःख लाग्दो कुरा भएको बताइन्। स्रोत जुट्ने आधारवीना नै बजेटको आकार सरकारले बढाएको बताउँदै कार्यान्वयन हुन नसक्नेगरी ऋण काढेर बाँढ्ने बजेटले दिगो आर्थिक संमृद्धि ल्याउँछ भन्नु हाँस्यस्पद कुरा भएको उनले बताइन्। रणनीतिक महत्वका ठूला योजनामा चाहिने मात्रामा बजेट नछुट्याएको बताउँदै २२ वटा राष्ट्रिय गौरवका आयोजनाको प्रगति सन्तोषजनक नभएकोमा सरकारको ध्यानाकर्षण गराइन। मुलुकको विकास र संमृद्धिको परिकल्पना गरेको सरकारले सहर केन्द्रित बजेट ल्याएको आरोप लगाउँदै देशको विकास भनेको सहरमात्र नभई गाउँको पनि हुनु पर्नेमा उनले जोड दिइन्। गाउँलाई सुविधायुक्त बनाउनु आजको चुनौति भएको बताउँदै तर, बजेटले यो विषय सम्बोधन नगरेको आरोप लगाइन्। उनले ७० प्रतिशत भन्दा बढि कृषिमा आधारित देशमा सरकारले २.३ प्रतिशत मात्रै छुट्याएको भन्दै यो बजेटले कृषकका लागि के गरेको छ भनि प्रश्नले प्रश्न गरिन्। जुन क्षेत्रमा लगानी गर्दा उत्पादन बृद्धि हुन सक्छ त्यो क्षेत्रमा बजेट विनियोजन नगरी बढ्दो व्यापार घाटा कम गर्न नसकिने उनको दाबी थियो। शिक्षा क्षेत्रमा २० प्रतिशतको आवश्यक भएपनि दश प्रतिशत मात्रै छुट्याएको भन्दै यसले लक्ष्य हाँसिल गर्न नसकिने उनले बताइन्। गत वर्ष पाँच लाखलाई स्वादेशमै रोजगार दिने भनिएको अहिले के कतिले पाए कुनै टुंगो भएन अहिले पनि त्यहि कुरा गरिएकोमा आपत्ति व्यक्त गरिन। दुई तिहाइको सरकारले रिस्क मोलेरै भएपनि कुनै न कुनै नयाँ कार्यक्रम बनाउनु पर्ने थियो तर, त्यो हुन नसकेको भन्दै दुई तिहाइको बहुमतको सरकारको औचित्यमाथि प्रश्न उठाइन्। महिलाहरुलाई कृषिसँग जोड्ने गरी काम बजेट नगरेको बताउँदै वितरणमुखी बजेटले आर्थिक बृद्धि नभएर जनताले तिरेको करबाट कार्यकर्ता पोस्ने काम भएको बताइन्। सरकारले जनतालाई महंगीको मारले ढाड सेकिएको भन्दै सरकारको उपहार जनतालाई यहि हो भनि व्यंग्य गरिन। जस्तो सुकै बजेट भएपनि त्यसको सफल कार्यान्वयनका लागि भ्रष्टाचार नियन्त्रण जरुरी रहेको बताउँदै अन्यथा व्यवस्था नै धरापमा पर्न सक्ने तर्फ चिन्ता व्यक्त गरिन।
प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update