हिमाल दैनिक
गुठी सम्बन्धी विधेयकको विरुद्धमा आइतबार माइतीघर मण्डलामा भएको गुठीयारहरुको प्रदर्शनमाथिको दमनबारे गृहमन्त्रीको जवाफ नआएपछि प्रतिनिधि सभाको सोमबारको बैठक अबरुद्ध भएको छ। सरकारले सदनमा पेश गरेको विनियोजन विधेयकमाथिको छलफल अघि बढाउने कार्यसूचिका साथ संसदको बैठक सभामुख कृष्णबहादुर महराले सोमबार बिहान साढे ११ बजेतिर सुरु गरेका थिए। तर, आइतबारको सरकारी दमनको चर्को विरोध गर्दै प्रमुख विपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण र सचेतक पुष्पा भुषालले प्रहरी दमनको विषयमा चित्तबुझ्दो जवाफ सरकारका गृहमन्त्रीले नदिएसम्म सदनको कारबाही सूचारु हुन नसक्ने अडान राख्दै विरोध गरे। सभामुख महराले सदन चलाउन भूमिसुधार मन्त्री पद्मा अर्याललाई गुठी सम्बन्धी विधेयकको विषयमा बोल्न समय दिएपनि विपक्षीले गृहमन्त्री रामबहादुर थापाले जवाफ नदिएसम्म सदन चल्न नसक्ने अडान लिएपछि सभामुख महराले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। त्यसपछि सत्ता र प्रतिपक्ष दलका नेतासहित सभामुख महराले गरेको वार्तामा गृहमन्त्री उपस्थित भएर सदनमा जवाफ दिन आज नभ्याउने जानकारी आएपछि विपक्षीले सदन चल्न नसक्ने अडान कायमै राख्यो। फलस्वरुप सभामुख महराले आजैका लागि तय गरेको प्रतिनिधि सभाको दोस्रो बैठक सुरु नै नगरी सूचना टाँस गरी मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेको कांग्रेसका प्रमुख सचेत खाँणले हिमाल दैनिकलाई बताए। सरकारले गुठीको नाममा रहेका जग्गा जमिन कब्जा गरी बसेका भूमाफिया र तथाकथित सुकुम्वासीका नाममा पार्टी कार्यकर्ताको नाममा लालपूर्जा दिने उद्देश्यले गुठी सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश गरेपछि त्यसको सरोकारवालाहरुले विरोध गर्दै आएका छन्।
प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update