हिमाल दैनिक
गुठी सम्बन्धी विधेयकको विरोधमा शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका गुठीयारहरुमाथि आइतबार भएको प्रहरीको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रतिनिधि सभाको बैठक अबरुद्ध पारेको छ। सोमबार बसेको प्रतिनिधि सभाको बैठकको सुरुमै विपक्षी दलका सदस्यहरुले उभिएर विरोध जनाए। त्यसपछि सभामुख कृष्णबहादुर महराले कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणलाई बोल्न समय दिए। सदनमा बोल्दै प्रमुख सचेतक खाँणले सरकारले अघि सारेको संविधान विपरितका प्रावधानसहितको गुठी सम्बन्धी विधेयकको विरोधमा उत्रिएका उपत्यकाका गुठीयार र सरोकारवालाहरुको जुलुमाथि बर्बर दमन गरेर नागरिकको संवैधानिक र मौलिक हकसँगै उनीहरुको धर्म, संस्कृति र परम्परामाथि धावा बोलेको आरोप लगाए। सदियौंदेखि चलि आएको सनातन धर्म संस्कृतिमाथि राज्यले कानून बनाउने बहानामा गुठीको जग्गा, जमित र सम्पत्तिसँगै धर्म संस्कृतिलाई नै समाप्त पार्न लागि परेको आरोप लगाए। उनले भने, ‘एकातिर सरकार राज्य कोषबाट करोडौँ रुपैयाँ खर्च गर्दै होलिवाइन छर्कने काम गर्छ र आयोजकबाट करोडौंको धनराशीको पुरस्कार ग्रहण गर्छ। अर्कोतर्फ कुनै धर्म प्रचारकको टोपी लगाएर नेपालको पुरातन धर्म संस्कृति र परम्परामाथि आक्रमण गरेको छ। यो नेपालीले टुलुटुलु हेरेर बस्न सक्दैनन्।’ खाँणले लोकतान्त्रिक शासन व्यवस्थामा पनि सरकारले मानव अधिकार सम्बन्धी विधेयक, मिडया काउन्सिल सम्बन्धी विधेयक, प्रेस सम्बन्धी र अहिले गुठी सम्बन्धी विधेयक ल्याएर संविधानको भावना र जनताको चाहना विपरित किन जाने कार्य सरकारले गरिरहेको छ भनि गम्भिर प्रश्न गरे। उनले सरकारलाई संविधानको भावना र जनताको चाहना बुझेर मात्रै विधेयक अघि बढाउन सुझाव दिए। संविधानले प्रद्दत्त गरेका अधिकार कुण्ठित गर्नेगरी कानून बनाउने कामको निरन्तरता दिँदै गुठी सम्बन्धी विधेयक ल्याएर उपत्यकावासी जनता जसले निरंकुश राजतन्त्र फालेर लोकतान्त्रिक शासन व्यवस्था स्थापित गर्न बलिदान दिएका थिए उनीहरुमाथि आइतबार भएको दमन र त्यसको कारकको रुपमा विधेयकप्रति आफ्नो दलको घोर आपत्ति रहेको बताए। संविधानले शान्तिपूर्ण भेला हुन पाउने, सभा सम्मेलन गर्न पाउने अधिकार नागरिकलाई दिएको बताउँदै खाँणले भने, ‘शान्तिपूर्ण जुलुस, भेला र सभासम्मेलन गर्ने टुंडिखेलको जग्गा सरकारले नै विक्री गरिसकेपछि नेपाली जनता माइतीघरमा भेला नभएर कहाँ भेला हुने?’ काठमाडौंका आम नागरिकले निरंकुश राजतन्त्रको विरुद्धमा उत्रिएको जनतामाथि यसरी उनीहरुको धर्म, संस्कृति, परम्परामाथि आक्रमण तथा नागरिकमाथि जुन प्रहार भएको बताउँदै उनले हिँजोको प्रहरी दमनको छानविन गरी दोषीमाथि कारबाहीसँगै त्यो आदेश दिनेमाथि पनि कारबाहीको माग गरे। यसको जवाफ सरकारका गृहमन्त्रीले नदिएसम्म सदन चल्न नसक्ने भन्दै कांग्रेसका सांसदहरु उभिएर विरोध जनाए। तर, त्यहिबीचमा सभामुख महराले सत्तारुढ नेकपाकी सांसद पम्फा भुषाललाई बोल्न समय दिए। प्रमुख प्रतिपक्षीले सरकारको धारणा मागेर सदन अवरोध गरिरहेको अवस्थामा पनि सभामुख महराले संसदीय अभ्यास, परम्परा विपरित भुषालाई होहल्लाकै बीच छिटो आफ्नो कुरा राख्न आग्रह गरे। विपक्षीको होहल्लाकैबीच पम्फा भुषालले हिँजो मात्रै रातो मच्छिन्द्रनाथको भोटो जात्रा हेर्न राज्यका उच्चपदस्थ पदाधिकारी र सरकारका मन्त्रीहरु जाँदा त्यहि समयमा गुठी सम्बन्धी विधेयकको विरोधमा उत्रिएका गुठीयारको प्रदर्शनमाथि सरकारले दमन गरेकोमा विरोध जनाइन्। त्यसपछि सभामुखले भूमिसुधार मन्त्री पद्मा अर्याललाई सरकारको तर्फबाट जवाफ दिन समय दिए। तर, प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक खाँणले सदनको कारबाही नियमावली बमोजिम चल्नु पर्नेमा सभामुखले त्यो नियमावलीको ख्याल नगरी विपक्षीको विरोधकाबीच सत्तापक्षको सांसदलाई बोल्न समय दिएकोमा नियमापत्ति गरे। त्यसपछि बोल्ने क्रममा भूमिसुधार मन्त्री पद्मा अर्यालले राष्ट्रिय सभामा प्रस्तुत भइ छलफलको क्रममा रहेको विधेयकबारे बोल्दै भनिन्, ‘यद्यपि यो सदनमा यो विधेयक प्रस्तुत भएको छैन। बाहिर आएको भरमा हिँजो माइतीघरमा एउटा विधेयकको विषय र अर्को सडक छेउमा भएका व्यक्तिको विस्तापनले असुरक्षित भएर आएका दुई पक्षले गरेको प्रदर्शनमा निशेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि पानीको फोहरा र गिरफ्तार गरेको हो।’ उनले सरकारी विधेयकको बचाउँ गर्दै यो विधेयकले मौलिकता र संस्कृति मासिने कुरामा नभई हिँजोको निरन्तरता र भावनालाई प्रतिकूल हुने गरी अघि नबढाइएको दाबी गरिन्। त्यहिबीचमा उनले भनिन्, ‘हिँजोको गुठी संस्थानको भूमिका हिँजैको तहमा रहन सक्दैन। प्रदेश र स्थानीय तहमा पनि के कति अधिकार जाने भनि प्राधिकरणमा लाने कुरा भएको हो यसले गुठीको अस्थित्व समाप्त भएको होइन।’ उनले विधेयकमा खासै तात्विक फरक नभएको र केहि केहि विषयमा संशोधन गर्न पर्ने बाहेक हिँजैको धर्म, परम्परा, मूल्य मान्यता विपरित नआएको दाबी गर्दै यसबारे सदनमा विधेयक प्रस्तुत भएपछि छलफल र संशोधन गर्न सकिने बताइन्। साथै उनले विधेयकको निहित उद्देश्य भनेको किसानका नाममा गुठीको जग्गा अधिकरण गरेर बसेका व्यक्तिहरुलाई लालपूर्जा दिने गरी तयार पारिएको विधेयकको बचाउँमा संविधानको धारा २९० को प्रावधानको व्याख्या गरिन। तर, उनले संविधानको मौलिक हक अन्तरगत धारा २६ को उपधारा १ र २ भने विर्सिइन्। उनले २०४१ सालदेखि ०६१ सालसम्ममा साढे १४ लाख विगाह गुठीको जग्गा रैतानीमा परिणत भएको छ बताउँदै यो विधेयकले गुठीको जग्गामा भोग चलन गर्दै आइरहेका किसानको हक स्थापित गर्ने बताइन् त्यसपछि कांग्रेसका सचेतक पुष्पा भुषालले पुनः समय लिएर विपक्षी दलले सदनमा गम्भिर प्रश्न उठाएको बेला पनि त्यो विषय समाधान नगरी सदन सञ्चालन हुनु गम्भिर र आपत्तिजनक विषय भएको बताइन्। साथै उनले स्वयं सरकारकै मन्त्रीले समेत हिँजोको प्रदर्शनमा प्रहरी दमन भएको र धरपकड भएको भनिसकेपछि त्यसबारे सरकारका गृहमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नसक्ने बताइन्। भूमिसुधार मन्त्री अर्यालको भनाइप्रति आपत्ति जनाउँदै भुषालले संविधान र कानूनको नाममा सनातन धर्म, संस्कृति र परम्परामाथिको अतिक्रमण स्वीकार्य नहुने बताउँदै सनातन परम्परा र रितिस्थिती कानुन र संविधानभन्दा माथि हुने बताइन्। ‘रितिथिती संविधान भन्दामाथिको कुरा हो। पुर्खाले खाइनखाई दान गरेको जग्गा र सम्पत्ति र पहिचानलाई सरकारले संविधान र कानुनको नाममा नामेट गराउन खोजेको हो?,’ उनले प्रश्न गर्दै भनिन् ‘त्यी गुठीयारको जग्गा नेपाल सरकारको सांस्कृतिक र धार्मिक सम्पत्ति हो जसलाई रक्षा गर्ने दायित्व विर्सेर संविधान र कानूनको नाममा धावा बोलेको छ।’ उनले सरकारका गलत कदमको विरोधमा जनता सडकमा आउन नपाउने डेमोक्रेसी नचार्हिको बताइन्। गृहमन्त्रीको जवाफ चित्तबुझ्ने गरी नआएसम्म सदन चल्न नसक्ने बताएर विपक्षी दल उभिएपछि सभामुखले सरकारको ध्यानाकर्षण भएको भन्दै सदन अघि बढाउने कोशिश गरे। तर, विपक्षी दल नमानेपछि १५ मिनेटका लागि बैठक स्थगित गरे।
प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update