हिमाल दैनिक
लोकतन्त्रको नाममा अहिले लुटतन्त्र मच्चियोः कमल थापा
guthi
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्रको स्थापनापछि देशमा सत्ता र प्रतिपक्षले मिलेर लोकतन्त्रको नाममा अहिले लुटतन्त्र मच्चाएको आरोप लगाएका छन्। पार्टीको राष्ट्रिय स्वाभिमान यात्राको क्रममा बाग्लुङमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले देशमा भ्रष्टाचार बढदै जानुको कारण सरकारमा बसेका सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दुबैको राष्ट्रिय सहमति भएको बताए। उनले भने, ‘सत्तापक्ष र प्रतिपक्ष दुबैले मिलेर देश कंगाल बनाएका छन्। भ्रष्टाचारमा लिप्त भएका छन्।’ देशमा अनियन्त्रित ढंगले भ्रष्टाचार बढ्दै गएको भन्दै राप्रपाले यसप्रति खबरदारी गरेको दाबी गरे। मुलुकमा हिन्दुराष्ट्रलाई मासेर डलरको लोभमा धर्म निरपेक्ष राष्ट्रको घोषणा गरिएको उनको आरोप छ। ‘मुलुकमा गणतन्त्र स्थापना भएको पनि १३ वर्ष पुग्यो,’ थापाले थप्दै भने, ‘गणतन्त्रलाई संस्थागत गर्ने नाममा प्राचीनकालदेखि कायम रहेको सनातन हिन्दु संस्कृतिलाई मासियो। डलरको लोभमा धर्म निरपेक्ष घोषणा गरेपछि अहिले धर्म परिवर्तनको चर्को रुप देखिएको छ।’ थापाले राष्ट्रघाती नागरिकता ऐन कार्यान्वयन गरेर लाखौं विदेशीलाई नागरिकता बाँडिनु लोकतन्त्र विपरितको कार्य भएको पनि बताए। युवाहरुलाई सामान्य रोजगारीको लागि अरबको खाँडी र मलेसियाको जंगलमा जान बाध्य पारिएको उनको भनाई छ। नेपालमा गरिवी र बेरोजगारका, भ्रष्ट्राचार, धर्म संस्कृति माथिको अतिक्रमण, राष्ट्र विखण्डनको खतरा, लोकतन्त्रको आवरणमा सर्वसत्तावादको खतरा मुख्य चुनौतीको रुपमा देखिएको थापाले बताए। ‘जनआन्दोलन गर्ने र मुलुकको परिवर्तनका लागि बन्दुक बोक्नेहरु विदेशी मरुभूमिमा रगत पसिना बेच्न बाध्य छन,’ अध्यक्ष थापाले भने, ‘बन्दुक बोक्ने खाडीमा, बोकाउनेहरु अर्बपति र चिल्ला गाडीमा छन्। यसै यथार्थ बाहेक मुलुकमा कुनै पविर्तन हुन सकेको छैन।’ राप्रपाले अघि सारेको मध्यमार्गी धार राजसंस्था सहितको लोकतन्त्र र सनातन हिन्दुराष्ट्र स्थापनाको लागि अब गाउँगाउँमा बहस चलाउन जरुरी रहेको बताए। ‘हामी देशमा शान्ति नपाउने हो भने रोजगारी नपाउने हो भने अब राजसंस्था र हिन्दुराष्ट्र यी दलहरुसंग फिर्ता माग्नुपर्छ,’ उनले भने, ‘अहिले विप्लवको नाममा जे जस्तो गतिविधि भैरहेको छ, त्यसले अहिले सरकार सञ्चालन गरेका र प्रतिपक्षमा भएका दलहरु असफल भएको स्पष्ट छ। उनीहरुले जनतासंग माफी मागेर राजसंस्था र हिन्दुराष्ट्र फर्काउनुपर्छ।’ उनले विगतमा केही समयमा सरकारमा जानु पार्टीको गल्ती भएको औलाउँदै राप्रपाले अब सत्ता केन्द्रित राजनीति कहिल्यै नगर्ने समेत उल्लेख गरे। सभालाइ बरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, दिलविकास राजभण्डारी, विन्दु पहाडी, प्रकाश रिमाल, देव कँडेल लगायतले बोलेका थिए। कार्यक्रम जिल्ला अध्यक्ष सुरेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो।
प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update