पछिल्लो समय विदेश भ्रमणको क्रमलाई तिब्रता दिँदै प्रधानमन्त्री केपी शर्मा ओली शनिबार युरोप भ्रमणमा निस्किएका छन्।
विगतका अभ्यास र प्रचलन बमोजिम संघीय संसदको बैठक चलेको समयमा औपचारिक विदेश भ्रमणमा निस्कँदा प्रधानमन्त्रीले सदनलाई आफ्नो भ्रमणबारे पूर्वजानकारीसँगै फर्किएर आएपछि भ्रमणकाबारेमा जानकारी दिने गरिएपनि यसपटक प्रधानमन्त्री ओलीले आफ्नो युरोप भ्रमणबारे सदनलाई पूर्वजानकारी दिन आवश्यक ठानेनन्।
बजेट अधिवेशनको चटारो सदनभित्र चलिरहेपनि ओलीले सदनमा छोटो समय लिएर जरुरी महत्वको वक्तव्यमार्फत जानकारी नगराई शनिबार अपरान्ह युरोप भ्रमणकालागि स्वीट्जरल्यान्ड प्रस्थान गरे।
प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको अति विशिष्ट कक्षमा सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधानमन्त्री इश्वर पोखरेल लगाएतले विदाइ गरेका थिए भने नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्रीको सम्मानमा सम्मान गारथ सलामी अर्पण गरेको थियो।
प्रधानमन्त्री ओली ३१ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री ओलीले सोमबार अन्तराष्ट्रिय श्रम संगठनको १०० वर्ष पुगेको अवसरमा जेनेभामा आयोजना हुने विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ।
त्यसपछि उनी स्वीस इन्टेरियर मिनिस्टर एवंम् पूर्व राष्ट्रपति अलिन ब्रेसेटसँग दुई पक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ।
जेनेभाबाट बेलायत पुगेपछि प्रधानमन्त्री ओलीले ११ जुनमा प्रधानमन्त्री टेरेसा मेसँग भेट गर्ने कार्यक्रम छ।
त्यसै दिन प्रधानमन्त्री ओलीले अक्स्फोर्ड युनिभर्सिटीमा नेपालीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम पनि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। १२ जुनमा प्रधानमन्त्री ओली फ्रान्समा पुगेर राष्ट्रपति इम्यानुयल म्याक्रोंसँग भेटवार्ता गर्ने तय भएको छ।
त्यसपछि उनी नेपाल र फ्रान्सको कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा आयोजित एक विशेष कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ।
त्यसक्रममा ३२ अर्बको लगानीसहित नेपाली आकाशमा प्रक्षेपण गर्न लागिएको भू–उपग्रहसम्बन्धी सम्झौतामा समेत नेपाल र फ्रान्सले हस्ताक्षार गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओलीको टोलीमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, परराष्ट्र सचिव शंकरदास वैरागी, श्रम सचिव महेश दाहाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार र वैदेशिक सल्लाहकार राजन भट्टराईलगायत सहभागी छन्।
युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्कने कार्यक्रम छ।
प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय