गणतन्त्र दिवसको अवसरमा वितरण गरिएको पदकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को चुनाव चिन्ह अंकित भएको विषयले प्रमुख प्रतिपक्षी दलभित्र ठूलो खैलाबैला मच्चिएको छ।
संविधान सभा सदस्यहरुको सम्मानमा वितरित संविधानसभा पदकमा नेकपाको चुनाव चिन्ह ‘सूर्य’ अंकित भएको जानकारी पाएपछि कांग्रेसकाे तल्लो तहका कार्यकर्तादेखि केन्द्रीय तहसम्मका नेताहरुले यसको विरोध गर्दै तत्काल उक्त पदक अस्विकार गर्न नेतृत्वलाई दबाब दिन सुरू गरेका छन्।
पार्टीका कतिपय नेताहरुले त यस विषयलाई गम्भिरतापूर्वक लिनु पर्ने भन्दै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको समेत ध्यानाकर्षण समेत गराइसकेकाे पार्टी निकट उच्च स्राेतले बताएकाे छ।
उनीहरुले पदकमा राष्ट्रिय चिन्हहरु अथवा संविधान निर्माणको विषय प्रतिबिम्बित गर्ने बुट्टाको सट्टा सत्तारुढ दलको चुनाव चिन्ह अंकित गरिएकाे र यस्ताे पदक लिन नसकिने भन्दै सबैले एकमुष्ट संकलन गरी राष्ट्रपति कार्यालयमै फिर्ता गर्नु पर्ने दबाब नेतृत्वलाई दिएका छन्।
यसका लागि केही नेताहरुले तत्काल पार्टीको केन्द्रीय कार्यसमिति बैठक डाक्न सभापति देउवालाई आग्रह समेत गरेका छन्। पार्टीले औपचारिक रुपमै सरकारको उक्त निर्णयको विरोध गरी पार्टीको तर्फबाट पहिलो र दोस्रो संविधान सभामा निर्वाचित सबै कांग्रेस सभासदहरुले लिएको पदक एकमुष्ठ जम्मा गरी पोकै पारेर सम्बन्धीत निकायमा बुझाउन नेतृत्वलाई सुझाव दिइएको एक नेताले हिमाल दैनिकलाई बताए।
सभापति देउवाले यसबारे के कसरी अघि बढ्ने भन्ने विषयमा वरिष्ठ नेता पौडेलसँग पनि कुराकानी र परामर्श गरिसकेको स्रोतको दाबी छ।
सभापति देउवाका निजी सचिव भानु देउवाले सभासदहरुको सम्मानकाे कार्यक्रमबारे प्रमुख जिल्ला प्रशासन कार्यालयबाट सभासदलाई जानकारी गराइएकाे तर, पदकमा कोरिएका बुट्टा र डिजाइनको विषयमा सभापतिलाई कुनै पूर्वजानकारी नभएको बताए।
यसअघि केन्द्रीय सदस्यहरु बलबहादुर केसी, मीनेन्द्रप्रसाद रिजाल, लक्ष्मण घिमिरे लगायतका नेताहरुले उक्त पदक अस्विकार गर्दै जेठ १६ गतेको पदक लिन शीतल निवास नजाने घोषणा गरेका थिए।
पहिलो र दोस्रो संविधान सभा सदस्यहरुको योगदानको कदर गर्दै सरकारको निर्णय अनुसार गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १६ गते शीतल निवासमा पूर्व सभासदहरुलाई संविधानसभा पदक वितरण गरेकी थिइन्।
तर, पदक लिएर कतिपय सभासदहरुले सगौरव उक्त पदक आफ्ना फेसबुकमा राखेपछि त्यसमा कुँदिएको बुट्टामा तत्कालिन नेकपा एमालेको चुनाव चिन्ह सूर्य संकेत रहेको भन्दै सामाजिक सञ्जालमा आलोचना भएकाे थियाे।
यसै विषयमा जेठ २० गतेको प्रतिनिधि सभा बैठकमा कांग्रेस नेता मीनेन्द्रप्रसाद रिजालले पार्टी नेताहरूसँगकाे परामर्शमा आपत्ति जनाएका थिए।
राजा/महाराजाको शैलीमा संविधान निर्मातालाई पदक वितरण चित्तै बुझेनः रिजाल
साे दिन सून्य समयमा बाेल्दै रिजालले आधुनिक नेपालमा संविधानले सबै नागरिक समान भएपनि संविधान निर्मातालाई चिनारी वितिरण गर्ने शैली पुरानै राजा/महाराजा र जमिन्दारले जमिन जोत्ने किसानलाई स्याबासी दिने पारामा भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। उनले थप्दै भनेका थिए, ‘अझ पदकमा संविधानलाई आड पुग्नेगरी कुँदिएका रेखाहरुको कलात्मक प्रस्तुतीले संविधान निर्माण र स्वामित्वबारे अन्यथा सन्देश दियो भन्ने आम चर्चा छ। शुशोभनको शैली र पदकको डिजाइनले संविधान निर्माणका लागि भएको बलिदानीपूर्ण संघर्ष, संविधानको मर्म, भाव र उत्तराधिकारीलाई परिलक्षित गर्न सकेन भन्ने जनगुनासो छ।’ कांग्रेसले विरोध जनाएलगत्तै गृहमन्त्रालयका अधिकारीहरुले पदकमा कोरिएका धर्काहरु चुनाव चिन्ह नभएर स्थानीय तहको संकेत भएको स्पष्टिकरण दिएका थिए। तर, पदकमा कुँदिएका सातवटा लालिगुँरासले सात प्रदेशको संकेत गरेपनि वरिपरी कुँदिएका धर्का र बाहिरी घेरामा राखिएको ताराहरुको संख्याले स्थानीय तहको संख्यालाई प्रतिनिधित्व गर्दैन। पदकबारे थप समाचार पढ्न तलका लिंक खाेल्नुहाेस्ःसंविधान सभाका सबै सदस्यलाई पदक दिएकी राष्ट्रपति भण्डारीको पदक खोइ?
राष्ट्रपतिसँग पदक थाप्न पूर्व सभासदहरुको गृहमा लर्को
प्रकाशित मिति: बुधबार, जेठ २२, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय