![मन्त्री पण्डितले नटेरे पनि राज्य व्यवस्था समिति पर्ख र हेरको स्थितिमा](https://himaldainik.com/wp-content/uploads/2019/06/da-01-e1559903718745.png)
लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापनका विषयमा सरकारको धारणा बुझ्न संसदीय समितिले आजै साँझ दोस्रो बैठकमा बोलाउँदा पनि अटेर गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित अनुपस्थित भएका छन्।
प्रतिनिधि सभा अन्तरगत राज्य व्यवस्था तथा सुशासन समितिका बैठकमा बहुचर्चित र विवादित विषयमा बुझ्न भन्दै समितिले बोलाएको बैठकमा बिहान नपुगेका मन्त्री यादव साँझ ५ बजेपनि अनुपस्थित रहेपछि समितिको बैठक २७ गतेसम्मका लागि स्थगीत भएको छ।
आगामी २७ गते पनि मन्त्री उपस्थीत नभए लोक सेवा आयोगले हालै प्रकाशित गरेको कर्मचारी भर्ना सम्बन्धी बिज्ञापन रद्द गर्न निर्देशन दिने समितिले जनाएको छ।
समिति सभापति शशि श्रेष्ठले बिज्ञापन रद्द गर्नुपर्नेमा सहमति जुटेपनि सरकारको धारणा सुन्न निर्णयमा नपुगेको बताउँदै बैठक स्थगित गरेकी हुन्। उनले सरकारले तोकिएको समयमा पनि सरकारी धारणासहित समितिलाई जानकारी नदिए आगामी बैठकमा आवश्यक निर्देशन दिने बताइन्।
आयोगले ९ हजार १ सय ६१ पदका लागि दरखास्त आव्हान गर्दा समावेशी समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई लत्याएको भन्दै त्यसको चौतर्फी विरोध भइरहेको छ।
सोही विषयमा लगातार पाँच दिनदेखि राज्य व्यवस्था समितिको बैठक बसिरहेको छ। शुक्रवार तीन पटक बैठक बसेपनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित समितिमा उपस्थित नभएपछि बैठक आगामी २७ गतेसम्मका लागि स्थगित गरिएको हो।
यसअघि समितिका सदस्यहरु जनार्दन शर्मा, दिलेन्द्रप्रसाद बडु, राजेन्द्र महतो लगायतले सरकार र आयोगले संविधानको समावेशी समानुपातिक प्रतिनिधित्वको सिद्धान्त लत्याएर संविधान मिच्ने र संवैधानिक अराजकता निम्त्याउने काम गरेको आरोप लगाएका थिए।
उनीहरुले संविधान विपरित भएको उक्त पदपूर्ति प्रक्रिया रोक्न तत्काल उक्त विज्ञापन रद्द गर्न लोकसेवा आयोगलाई समितिले निर्देशन दिनु पर्ने बताएका थिए।
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय