![प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको शुभारम्भमै करीब ७५० युवाले पाए रोजगार](https://himaldainik.com/wp-content/uploads/2019/06/pm-e1559912081640.png)
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मुलुकका हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढेको बताएका छन्। शुक्रबार भक्तपुरमा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले हरेक समस्याको समाधान पहिल्याउँदै सरकार अगाडि बढेको बताएका हुन्।
प्रधानमन्त्री ओलीले सरकार ‘डिजिटल नेपाल’ बनाउन लागिपरेको उल्लेख गर्दै प्रत्येक प्रदेश, नगर र गाउँपालिकालाई डिजिटलमय बनाउने बताए। काम नपाएर अब कोही पनि नेपाली विदेशिनु नपर्ने बताउँदै उनले सबैलाई देशमै रोजगारी दिने बताए।
प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको महान अभियानको एउटा दृष्टान्तको रुपमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको चर्चा गर्दै देशमा अब कोही पनि भोकै बस्नुपर्ने र भोकले मर्नुपर्ने अवस्थाको अन्त्य हुने बताए। सरकारले बालकदेखि ज्येष्ठ नागरिकसम्मको जीवन सुरक्षाको कार्यक्रम सञ्चालन गरेकाले अब कसैलाई समस्या नपर्ने बताउँदै उनले सरकारले शुरु गरेको महान् अभियानदेखि आत्तिएर केही प्रतिक्रियावादी तत्वहरु सक्रिय रहेको धारणा व्यक्त गरे।
मुलुकमा क्रान्तिका नाममा चन्दा उठाउने, बम पड्काउने, लुटपाट गर्ने पनि सक्रिय रहेको भन्दै उनले हिंसा र आतङ्कतर्फ लागेको तत्वहरु सफल नहुने बताए।
त्यस्तै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ ल्याएको बताउँदै आगामी वर्षबाट कम्तीमा पाँच लाख बेरोजगार युवालाई व्यवस्थितरुपमा रोजगारी दिने गरी देशैभरि यो कार्यक्रम सञ्चालन गरिने जानकारी दिए।
रोजगार कार्यक्रमबाट भक्तपुरका करीब ७५० बेरोजगार युवालाई रोजगारी पाएका छन् । करीब एक हजार ५ सय युवाले भने बेरोजारको सूचीमा नाम दर्ता गराएका थिए । मन्त्री विष्टदेखि पूर्वमन्त्री बस्नेत र नगरप्रमुख, जनप्रतिनिधि एवं सूचीकृत भएका रोजगार प्राप्त दस्ताले सडक खनेर कामको शुरुआत गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २१, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय