हिमाल दैनिक
संसदमा कांग्रेसको सकसः पार्टीको नीति एकातिर, यी सांसदहरुको बोली अर्कैतिर
Congress mps goes against party line
संसदीय व्यवस्थाको हिमायती कुनै दलको नाम लिनु पर्यो भने सबैभन्दा पुरानो र पहिलो नम्बरमा आउने पार्टी नेपाली कांग्रेस नै हो। तर, यसका संसदीय गतिविधि र अभ्यासहरुको सूक्ष्म विश्लेषण गर्यो भने, संसदीय परम्परा, मूल्य, मान्यता र मर्यादा विपरित जे जति गतिविधि गर्ने दल र सांसदको सूचि खोज्यो भने यहि कांग्रेसका नेता र सांसदहरु नै अग्रस्थानमा पर्दछन्। त्यसको पछिल्लो उदाहरण हो, सरकारले संघीय संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको वार्षिक बजेटमाथिको छलफलका क्रममा मंगलबार बोल्ने कांग्रेसका सांसदद्धय दिव्यमणी राजभण्डारी र प्रमिला राइले दिएकाे अभिव्यक्ति। बजेटमाथिको छलफलमा बोल्न पार्टीको समय लिएर रोष्ट्रममा पुगेका सांसद राजभण्डारीले मंगलबार पाएको १० मिनेटको समयमध्ये झण्डै आधार समय प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न युरोप भ्रमणकाबारेमा बोलेर विताए। उनले प्रधानमन्त्री ओलीको भ्रमणको सफलताको कामनासँगै भ्रमणका क्रममा बेलायतसँग ब्रिटिस गोर्खा सैनिकको विषयमा र फ्रान्स सरकारसँग बहुचर्चित नेपाल वायुसेवा निगमको वाइड बडी खरिद प्रकरणको विषयमा कुरा गर्न समेत सुझाव दिए। संसदीय अभ्यास, मान्यता र परम्परा अनुसार, देशको राष्ट्रप्रमुख वा सरकार प्रमुखको कुनै पनि औपचारिक विदेश भ्रमणको विषयमा त्यतिबेला मात्रै सदनभित्र छलफल र चर्चाको विषय बन्ने गर्दछ जब सम्बन्धीत सरकारका प्रमुख वा निजको प्रतिनिधिले सभामुखसँग विशेष समय लिएर सदनलाई त्यसबारे औपचारिक जानकारी गराउँदछन्। यहि विगतदेखि चल्दै आएको अभ्यास र परम्परा हो। त्यस मान्यताका आधारमा राजभण्डारीले मंगलबार सदनलाई औपचारिक जानकारी नै नभएको विषयमाथि बाहिर सञ्चारमाध्यममा आएकै समाचारका आधारमा बोलेर संसदीय परम्परा विपरित मात्र गएनन् बजेटमाथिको छलफलका लागि उनलाई उपलब्ध गराइएको महत्वपूर्ण समय समेत असम्बन्धीत मुद्दाको चर्चाका लागि खेर फाले। त्यसैगरी सांसद राइले बजेटमाथिको छलफलमा भाग लिँदै भनिन् ‘बजेट सुन्दा र पढ्दा अत्यन्त सुन्दर र राम्रो छ तर, कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने आशंका छ।’ राइले बालेका यी पदावलीसम्म त ठिकै थियो। तर, पाँच मिनेटको समय सकिनै लाग्दा अन्त्यतिर उनले पार्टीको औपचारिक नीति विपरित बोल्न पुगिन्। पार्टीले सरकारले अघि सारेको वितरणमुखी बजेटले देशको दीर्घकालिन आर्थिक स्थितिलाई बलियो बनाउँदैन भन्दै बजेटका कतिपय शीर्षकहरुमा छुट्याइएको बजेट विनियोजनको आलोचना गरिरहेको बेला सांसद राइले भने पार्टीको त्यो औपचारिक नीति ने चटक्कै बिर्सिइन्। पार्टी नीति विपरित बोल्दै उनले बृद्ध भत्ता दुई हजारबाट बढाएर पाँच हजार पुर्याउने भनिएकोमा एक हजार भएपनि बढाएकोमा सरकार र त्यसका अर्थमन्त्रीलाई धन्यवाद दिइन्। जसले गर्दा उनीपछि बोल्न पुगेका सत्तापक्षका कतिपय सांसदहरुले बजेटकाबारेमा सत्तापक्षकै सांसद पनि खुशी रहेको भन्दै विरोध र आलोचनाका लागि मात्रै आलोचना भएको प्रतिक्रिया दिएर विपक्षी दललाई उडाएका थिए। यसरी पार्टी नीति विपरित बोल्ने राजभण्डारी र राई मात्र होइनन्। त्यो लाइनमा बोल्ने अरु सांसदहरुको संख्या पनि बाक्लै छ। केही दिन अगाडि नेपाल महिला संघकी अध्यक्ष तथा सांसद उमा रेग्मी यसैगरी पार्टीको आधिकारिक नीति विपरित संसदमा बोलेकी थिइन्। खासगरी राजस्व संकलन सम्बन्धी सरकारले सदनमा पेश गरेको विधेयकमा त्यससम्बन्धी सम्पूर्ण अधिकार अर्थमन्त्रालयबाट कटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतमा राख्ने विषयमा पार्टीले गम्भिर रुपमा नीतिगत विरोध र असहमति जनाएको थियो। तर, विधेयकमाथिको छलफलका क्रममा सांसद रेग्मीले पार्टीको उक्त लाइन चटक्कै विर्सिएर ढिलै भएपनि सरकारले राजस्व संकलन तथा सजाय सम्बन्धी विधेयक ल्याएर राम्रो गरेको भन्ने अभिव्यक्ति दिइन्। जसको कारण सत्तापक्षका सांसदहरुले विपक्षी दल कांग्रेसका नेता तथा प्रमुख सचेतक र सचेतकको अनुहार हेर्दै व्यंग्यात्मक हाँसो गरेका थिए। रग्मीले गरेको गम्भिर त्रुटिलाई उनीपछि बोल्न पुगेकी कांग्रेस सचेतक पुष्पा भुषाल (गौतम)ले रफ्फु भर्नु परेको थियो। यतिमात्र होइन, सांसद मीनबहादुर विश्वकर्माले पनि गत हिँउदे अधिवेशनमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसीको विषयमा सदनमै ढ्यापढ्यापे समय लिएर बोल्ने क्रममा चिप्लिएका थिए। उनले डाक्टर केसीको जीवन रक्षाको विषयमा कुरा उठाउँने क्रममा चिकित्सा शिक्षा विधेयकको बुँदागत प्रावधानबारे चर्चा गर्न थालेपछि नेताहरुले उनको आलोचना गरेका थिए। जसलाई त्यसलगत्तैको बैठकमा सचेतक पुष्पा भुषालले नै टालुटुल गरेर सच्याउनु परेको थियो। यसैगरी कांग्रेसकै सांसद तेजुलाल चौधरीले पनि साेही अधिवेशनमा पार्टीको नीति विपरित बोलेपछि पार्टीकै कतिपय सांसदहरुले आपत्ति जनाउँदै उनीसँग स्पष्टिकरण माग गर्न नेतृत्वलाई दबाब दिएका थिए। कैलालीको टिकापुर घटनाका मुख्य योजनाकारका रुपमा पक्राउ परी हिरासतमा रहेका रेशम चौधरी, जसलाई गत निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ का जनताले चुनाव जिताइदिएका थिए, उनलाई थुनामा राख्न नहुने र तत्काल रिहा गरी सांसद पदको सपथ दिलाउन तेजुलाल चौधरीले माग गरेका थिए। यसरी कांग्रेसका सांसदहरुले पार्टी नीति र संसदीय अभ्यास विपरित बोलको विषयमा कतिपय नेताहरुले सांसदहरुलाई पार्टीले थप प्रशिक्षण दिनु आवश्यक भएको बताएका छन् भने कतिपय सांसदहरुलाई दलका पुराना नेताहरुले सम्झाउँदा उल्टै जाइलाग्ने गरेका छन्। यसरी दलभित्रकै सांसदहरु भद्रगोल पाराले प्रस्तुत हुने गरेपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँण र सचेतक भुषालले गम्भिरतापूर्वक लिँदै पार्टी नीति विपरित बोल्ने सांसदहरुको विषयमा के गर्ने भनि आन्तरिक परामर्श गरिरहेको बुझिएको छ।
प्रकाशित मिति: आइतबार, जेठ १९, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update