हिमाल दैनिक
राजा/महाराजाको शैलीमा संविधान निर्मातालाई पदक वितरण चित्तै बुझेनः रिजाल
rijal-01
सरकारले गणतन्त्र दिवशको उपलक्ष्यमा पूर्व संविधानसभा सदस्यहरुलाई वितरण गरेको विभुषण पदक र त्यसका लागि अपनाइएको शैलीको नेपाली कांग्रेसका नेता मीनेन्द्रप्रसाद रिजालले चर्को आलोचना गरेका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा सून्य समयमा बोल्दै नेता रिजालले आधुनिक नेपालमा सबै नागरिक समान भएपनि पदक वितरणको शैली पुरातन समाजमा राजा, महाराजाले कसैलाई स्याब्बासी दिने जस्तो भएको भन्दै त्यसमा चित्त नबुझेको बताए। खासगरी पदकको पृष्ठभूमिमा वरिपरी घेरामा कोरिएका धर्काले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको चुनाव चिन्ह सूर्य जस्तो देखिएको भनि कतिपयले आलोचना गरेको विषयमा रिजालले त्यो डिजाइनले संविधान निर्माण र स्वामित्वबारे अन्यथा सन्देश दिएको आम चर्चा भएको बताए। एक मिनेटको समयमा पनि रिजालले पर्याप्त र स्पष्ट धारणा राख्दै भने, ‘अर्थतन्त्र कृषिमा आधारित हुँदाको बेला वेलायत, स्पेन, रुसदेखि चीन, भारत र हामीकहाँसम्म सबैतिर राज्य र उत्पादन संरचनामा महाराजा, राजा, रजौटा, जमिन्दार र जोत्ने किसानबीचको सम्बन्ध शोषण, आश्रय र कथित संरक्षणको हुन्थ्यो। आधुनिक नेपालमा नागरिकबीचको सम्बन्ध त्यस्तो होइन बराबरीको हुनु पर्छ। नेपालको संविधानमा हामी सबैले सचेत मनले त्यहि अंकित गर्यौँ।’ उनले पदक वितरणको शैली र डिजाइनको विषयमा असहमति जनाउँदै भने, ‘तर संविधान निर्मातालाई चिनारी वितरण गर्ने शुशोभनको शैली त्यस्तो बेला प्रचलित स्याबासी दिने जस्तो भयो। चित्त बुझेन। अझ पदकमा संविधानलाई आड पुग्नेगरी कुँदिएका रेखाहरुको कलात्मक प्रस्तुतीले संविधान निर्माण र स्वामित्वबारे अन्यथा सन्देश दियो भन्ने आम चर्चा छ। शुशोभनको शैली र पदको डिजाइनले संविधान निर्माणका लागि भएको बलिदानीपूर्ण संघर्ष संविधानको मर्म, भाव र उत्तराधिकारलाई परिलक्षित गर्न सकेन भन्ने जनगुनासो छ। सम्बन्धित सबैको ध्यानआकृष्ट गर्न चाहन्छु।’
प्रकाशित मिति: शनिबार, जेठ १८, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update