व्यवस्था फेरिएर गणतन्त्र स्थापना भएपछि पनि सबै जिल्ला नेपाल हो र सबै सांसद चुनाव जितेर आएका हुन् भन्ने मान्यता विपरित बाहुबली र श्रीपेचधारीहरुकै दबदबामा अर्थमन्त्रीले बजेट विनियोजना गरेको आरोप सत्तापक्षकै सांसदले लगाएका छन्।
अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदमा पेश गरेको आ.व. २०७६÷०७७ को वार्षिक बजेटमाथिको छलफलका क्रममा सोमबार प्रतिनिधि सभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता विरोध खतिवडाले बजेटप्रति गम्भिर असन्तुष्टि व्यक्त गरे।
अघिल्लो वर्ष मन्त्रालयगत बजेट विनियोजनमा सत्तापक्षकै सांसदले असन्तुष्टि व्यक्त गरेको स्मरण गराउँदै उनले भने, ‘यसपटकको बजेट पनि छातिको चौडाई, पाखुराको गोलाई र श्रीपेचको साइज हेरेर वितरण नहोस भन्ने चाहन्छु। यसले अन्याय पर्छ। पुनः आग्रह छ, छातिको चौडाई, पाखुराको गोलाई र श्रीपेचको साइज हेरेर बजेट वितरण नहोस्। सबै जिल्ला नेपाल हो, सबै माननीय जितेर आएका हुन् भन्ने मान्यतामा बजेट विनियोजनमा ध्यान दिइयोस्।’
सरकारले चालु वर्षलाई संमृद्धिको आधार वर्ष भनि दाबी गरिरहेका बेला सांसद खतिवडाले भने सरकारको पूँजीगत खर्च व्यवस्थापनको क्षमतामाथि नै प्रश्न उठाउँदै अघिल्लो वर्ष बजेट शिर्षकमा परेका पैसा त्यसको टेण्डर अहिलेसम्म भएको छैन, आर्थिक वर्ष सकिन सायद अब ४० दिन बाँकी छ तर, टेण्डर भएको छैन किन? भनि प्रश्न गरे।
व्यंग्यात्मक शैलीमा उनले भने, ‘सायद कार्यान्वयन भनेको यहि होला। हुम्लामा पठाएको चामल सुर्खेतमा गायव भयो। सरकारको नियत भनेको त्यो चामल हुम्ला पठाउने हो, तर सुर्खेतमा विक्री भयो कार्यान्वयन हुन सकेन।’
सरकारले कार्यक्रम ल्याएर मात्र नहुने बताउँदै त्यसमा सफल कार्यान्वयनको आवश्यकता रहेको उनले बताए।
https://www.facebook.com/himaldainik/videos/885142738496664/
कार्यान्वयनको क्षमताप्रति कटाक्ष गर्दै उनले आफूले यसबारे मुक्तक पनि लेखेको बताउँदै भने, ‘हुम्ला अन्न अभावले ग्रस्थ छ, केन्द्रमा निकै लामो छलफलपछि निर्णय चामल पठाउने भएछ, तर, के गर्ने पहाडी बाटो, उकाली ओराली गरेर जाँदा जाँदै चामलको चा खिइएर मल मात्रै पुगेछ।’
हामीले चामल खाएपछि भोलिपल्ट मल आउँछ भन्दै उनले जुम्ला पठाएको चामलको ठाउँमा मल मात्रै पुगेको बताए।
उनले यस्ता कार्यान्वयनका त्रुटिहरुका विषयमा पनि केन्द्रीत भए बजेट राम्रो छ कार्यान्वयन के हुन्छ भनि धेरै साथीहरुले कुरा उठाएको बताए।
त्यसैगरी सरकारका अर्थमन्त्रीले खेलकूद विकासको क्षेत्रमा गरेको बजेट विनियोजनमा पनि गम्भिर प्रश्न उठाए। उनले भने, ‘यहाँ एउटा कुरा अलि हजम भएको छैन बजेटमा। अन्तराष्टियस्तरको खेलकूद परिसर, प्रदेश स्तरिय रंगशाला सातै प्रदेशमा र सबै गाउँमा खेल ग्राम बनाउने कुरा यो बजेटमा आएको छ, पैसा धुमधाम हालिएको छ ४० करोड। यो के हो? मैले पढ्न गल्ती गरेको हुन सक्दछ।’
कहीँ कहीँ बजेटको बचाउ गर्दै उनले बजेटमा धेरै कुरा राम्रो आएको तर, केहि कुरा कमजोरी होलान, फलेकमा टेकेर उडान भर्न होइन आरसिसि पिलरमा अडिएर उडान भर्न खोजेको बताए।
सरकारले अहिलेसम्म पूर्वाधार विकासका लागि २० प्रतिशत मोविलाइजेसन फण्ड उपलब्ध गराउने व्यवस्थाको विरोध गर्दै उनले त्यसलाई गम्भिरता पूर्वक सोच्न र सच्याउन माग गरे।
‘यदि सरकारले पैसा दिएर ठेक्का लिने हो भने म राष्ट्रिय राजमार्गको ठेक्का लिएर सबैलाई ठेकदार बनाइदिन्छु। सुको खर्च नगरी सरकारबाटै पैसा लिएर ठेकदार बन्ने हो भने के को निर्माण व्यवसायी भन्दै हिँड्नु पर्यो? राउटे, चेपाङ सबेलाई ल्याएर ठेकदार बनाइदिउँन र निर्माण व्यवसायी बनाइदिउ,’ उनले भने।
विद्युत उत्पादन क्षेत्रमा १० प्रतिशत दिने चलन किन रोकियो भन्ने प्रश्न गर्दै यसको जवाफ अर्थमन्त्रीसँग मागे।
घरघरमा विजुली पुर्याउने कुरा बजेटले गरेको तर, त्यसमा काठका पुराना पोलहरु हटाएर नयाँ पोल राख्ने विषय नगरेको बताउँदै पुराना काठका पोल ढलेर मानिस मरेको कुरा बजेटले छुन नसकेको बताए।
बजेट विगतको बजेटको निरन्तरता भएपनि यो पद्धती नबसेको बताउँदै उनले हेटौँडाबाट १८ किलोमिटर सडक जुन फास्टट्रयाकमा जोडिन्छ त्यसमा बजेट नपारेर हेटौंडा पश्चिम चितवनहुँदै जाने गाडीहरु चल्न नपाउने र पूर्वमात्रै चल्ने गाडी चल्न पाउने गरी बजेट छुट्याइएकोमा आपत्ति प्रकट गरे। उनले भने, ‘के यहि हाम्रो मनसाय? पटकक्कै होइन? के कारणले यो हरायो?’
राजस्व संकलनका मुद्दा र विकासका विषयमा अदालतमा परेका मुद्दाहरु अदालतले समयमै फैसला नगर्दा विकासको गति अवरुद्ध भएको बताउँदै यसबारे के कसरी हुन्छ यस्ता विषयमा अदालतले ६ कम्तिमा पनि महिनाभित्र टुंग्याउने परिपार्टी बसाउने तर्फ ध्यानकार्षण गराए।
प्रकाशित मिति: शुक्रबार, जेठ १७, २०७६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय